बैंक तथा वित्तीय संस्थाहरूमा ऋणी खाता संख्या २० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिरसम्म ऋण खाता संख्या २० लाख १२ हजार ९९४ पुगेको भए पनि कर्जा माग भने अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशत अर्थात् ८४ हजार ८८४ ले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को मङसिरसम्म ऋण खाता संख्या १९ लाख २८ हजार ११० रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंक र वित्त कम्पनीहरूमा ऋण खाता संख्या बढेको छ भने विकास बैंकहरूमा भने ऋण खाता घटेको देखिन्छ । वाणिज्य बैंकहरूमा ऋण खाता संख्या ४.०१ प्रतिशत अर्थात् ६४ हजार ४४१ ले बढेर १६ लाख ६९ हजार ८९४ पुगेको छ । गत वर्षको मङसिरमा वाणिज्य बैंकहरूमा १६ लाख ५ हजार ४५३ ऋण खाता सञ्चालनमा थिए ।
यस्तै, वित्त कम्पनीहरूमा ऋण खाता संख्या उल्लेखनीय रूपमा बढेको छ । चालु आवको मङसिरसम्म वित्त कम्पनीहरूमा ऋण खाता संख्या ७६.१४ प्रतिशत अर्थात् ३३ हजार ४१० ले बढेर ७७ हजार २८५ पुगेको छ । गत वर्षको सोही अवधिमा वित्त कम्पनीहरूमा ऋण खाता संख्या ४३ हजार ८७५ मात्रै थियो । तर, विकास बैंकहरूमा भने ऋण खाता संख्या घटेको छ । गत वर्षको मङसिरमा २ लाख ७८ हजार ७८२ ऋण खाता रहेकोमा चालु आवको मङसिरमा घटेर २ लाख ६५ हजार ८१५ मा झरेको छ । यो ४.६५ प्रतिशत अर्थात् १२ हजार ९६७ ले घटेको हो ।
समग्रमा ऋण खाता संख्या बढेको देखिए पनि कर्जा रकमको वृद्धि भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको मङ्सिरसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब २४ करोड रुपैयाँ मात्रै बढेको छ । जबकि गत वर्षको सोही अवधिमा निजी क्षेत्रमा ३.५ प्रतिशत अर्थात् १ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
भएन कर्जा विस्तार ?
बैंकमा पैसा थुप्रिँदा ब्याजदर एकल अंकमा झरेको छ । ब्याजदर एकल अंकमा हुँदा पनि सरकारी वित्तमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा कर्जा माग बढ्न सकेको छैन । कर्जा विस्तार अत्यन्त न्यून भएपछि करिब आधा दर्जन बैंकहरुको व्यवसाय खुम्चिएको छ । समग्रमा हेर्दा कर्जा प्रवाहको दर सुस्त गतिले मात्र बढेको देखिन्छ । कर्जा विस्तार नहुनुमा एउटा त बैंकको आफ्नै क्यापिटलमा दबाब छ । खराब कर्जा बढेर पुँजीमा दबाब छ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहे पनि कर्जा विस्तार हुन नसक्नुको मुख्य कारण निजी क्षेत्रको कमजोर आत्मविश्वास रहेको सरोकारवालाहरू बताउँछन् । आर्थिक गतिविधि सुस्त रहँदा नयाँ उद्योग, व्यवसाय विस्तार र लगानीका प्रस्ताव नआएकाले बैंकहरूले चाहेर पनि कर्जा प्रवाह बढाउन सकेका छैनन् । ब्याजदर न्यून भए पनि बजारमा माग सिर्जना नहुँदा कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसकेको हो ।
अर्थतन्त्रमा अनिश्चितता कायमै रहनु, नीतिगत स्पष्टताको अभाव र राजनीतिक अस्थिरताले पनि कर्जा विस्तारमा असर परेको छ । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्कन नसक्दा लगानीकर्ताहरू जोखिम लिन इच्छुक देखिएका छैनन् । यसका साथै जेनजी आन्दोलनपछि अर्थतन्त्र थप संकुचित भएकालृ पनि निजी क्षेत्रको मनोबल झनै कमजोर बनाएको छ ।
रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति बढ्दा बैंकिङ प्रणालीमा निक्षेप भने तीव्र रूपमा बढेको छ । तर आयातमुखी अर्थतन्त्र भए पनि त्यसअनुसार उत्पादनमूलक क्षेत्रमा कर्जा माग सिर्जना हुन सकेको छैन । उपभोगभन्दा बाहिर जाने दीर्घकालीन लगानी परियोजना नआउनु कर्जा विस्तारमा अर्को अवरोध बनेको छ ।
त्यसैगरी, कर्जा लिँदा बढेको जोखिम, विगतमा खराब कर्जाको अनुभव र व्यवसाय टिक्ने सुनिश्चितता नहुनुले पनि उद्यमीहरू बैंक कर्जा लिन हिच्किचाएको देखिन्छ । विज्ञहरूका अनुसार सरकारबाट स्पष्ट आर्थिक दिशानिर्देश, निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरण नबनेसम्म बैंकमा रहेको अधिक तरलता अर्थतन्त्रमा प्रवाह हुन कठिन रहनेछ l


