Banijya News

रास्वपाले आर्थिक र सुशासनको विषयलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक समृद्धि र सुशासनलाई मुख्य एजेन्डा बनाएर आफ्नो ’वाचापत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता सकिएसँगै रास्वपाले देशको आर्थिक अवस्था सुधार र भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता पत्र ल्याउने तयारी गरेको हो।

अन्य प्रमुख दलहरू पनि यतिबेला आ–आफ्नो घोषणापत्रलाई अन्तिम रूप दिन व्यस्त छन्। नेपाली कांग्रेसले आगामी माघ १० गते नै आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार उक्त घोषणापत्रमा आर्थिक उन्नति, विकासका योजना र प्रधानमन्त्रीको उम्मेदवारको नामसमेत उल्लेख गरिनेछ । यता नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सार्दै राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र संविधान संशोधनलाई मुख्य चुनावी मुद्दा बनाउने भएको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र लगायतका कम्युनिस्ट घटकहरू) ले सुशासन, समृद्धि र राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखेर चुनावी सामग्री तयार पारिरहेका छन्। निजी क्षेत्रका प्रतिनिधिहरूले पनि देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै राजनीतिक दलहरूलाई अर्थतन्त्र केन्द्रित घोषणापत्र ल्याउन आग्रह गरेका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदानको १७ दिन अगाडिबाट मात्रै औपचारिक प्रचार सुरु हुने र ४८ घण्टा अघि मौन अवधि सुरु हुने भएकाले दलहरूले प्रचारका लागि जम्मा १५ दिनको समय पाउनेछन् ।

1

Scroll to Top