रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गते (बुधवार) देखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले यसमध्ये ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४२ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरेको हो । यीबाहेक २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
थप सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओ निष्कासन बन्द छिटोमा फागुन ४ गतेसम्म हुनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन १३ गतेसम्म निष्कासन लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चित छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कस्तो छ कम्पनी ?
कम्पनीको अधिकृत पूँजी १ अर्ब १८ करोड र जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी पनि सोही रकम कायम हुनेछ, जसमा संस्थापकको ७८ प्रतिशत र सर्वसाधारणको २२ प्रतिशत शेयर स्वामित्व रहनेछ । आईपीओबाट संकलित पूँजी माथिल्लो मैवाखोला जलविद्युत आयोजना, दायित्व भुक्तानी तथा व्यवसाय विस्तारमा प्रयोग गरिनेछ ।
वित्तीय रूपमा कम्पनी आर्थिक वर्ष ०८०/८१ देखि नाफामा गएको हो । आर्थिक वर्ष ०८१/८२ मा सञ्चित नाफा १६ करोड ८९ लाख रुपैयाँ नाघिसकेको छ र ०८४/८५ सम्म ४६ करोड ९० लाख रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ, जसले लाभांश वितरण क्षमता देखाउँछ । सात सदस्यीय सञ्चालक समितिको नेतृत्व बसन्त गिरीले गरेका छन् भने जलविद्युत क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरू सञ्चालकका रूपमा रहेका छन् । आईपीओ सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य प्रतिकित्ता १३१ रुपैयाँ ३६ पैसादेखि ३९४ रुपैयाँ ८ पैसासम्मको दायरामा तोकिनेछ ।
यो कम्पनी निजी क्षेत्रका उद्यमीहरूद्वारा २०७३ साल माघ २६ गते प्राइभेट कम्पनीका रूपमा दर्ता भई २०७९ साल जेठ २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । हाल ५१० जना संस्थापक शेयरधनी रहेका यस कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिको बाँकी अवधि ३० वर्ष ११ महिना छ । कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा र मुख्य कारोबार स्थल गोरखा जिल्लामा रहेको छ ।


