Banijya News

९३ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमास तेल आयात

1
1.1K Shares

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँको कच्चा खाद्य तेल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी ७० अर्ब ९९ करोड रुपैयाँको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमासको तेल आयात भएको  । यस्तै ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ ।

यस अवधिमा ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको ३२ करोड ४१ लाख १९ हजार २२ लिटर प्रशोधित भटमासको तेल निर्यात भएको देखिन्छ । कुल निर्यातमा सबै किसिमका तेलको हिस्सा साढे ४६ प्रतिशत हुँदा भटमासको तेल ४० प्रतिशत देखिन्छ । गत आवको सुरुवाती सात महिनामा कच्चा भटमासको तेल ३८ अर्ब २९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ करोड ९२ लाख ९५ हजार ३ सय ५३ लिटर कच्चा तेल आयात भएको थियो । त्यसैगरी ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको १५ करोड ८१ लाख ३८ हजार ८ सय ३१ किलो प्रशोधित भटमासको तेल निर्यात भएको देखिन्छ । तथ्यांकले चालु आवमा कच्चा भटमासको तेल आयातमा ८५.३८ प्रतिशत तथा प्रशोधित भटमासको तेलको निर्यातमा १ सय ६ प्रतिशतले बढेको देखिन्छ ।

भारत सरकारले ३० मे २०२५ मा कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशत र प्रशोधित तेल ३५.७५ प्रतिशत नै यथावत् गरेपछि नेपालमा कच्चा तेल आयात र प्रशोधित तेल निर्यातमा प्रत्यक्ष असर देखिएको हो । भारतले सेप्टेम्बर २०२४ मा स्वदेशी तेलबिउ किसानलाई संरक्षण गर्ने उद्देश्यले कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशतले आयात कर बढाएको थियो । जसले गर्दा भारतमा कुल आयात शुल्क २७.५ प्रतिशतबाट घटेर १६.५ प्रतिशतमा झरेको थियो । तर उक्त निर्णयको अप्रत्याशित फाइदा नेपाललाई पुगेको थियो ।

भारतले मे २०२५ मा कर संशोधन गरेसँगै नेपालबाट प्रशोधित खाद्यतेल (एडिबल आयल) निर्यातमा ठूलो असर पर्ने भन्दै विज्ञहरूले आशंकासमेत गरेका थिए । भारतका व्यापारीले कच्चा तेल आयात गर्दा १६.५ प्रतिशत र प्रशोधित तेल आयात गर्दा ३५.७५ प्रतिशत कर तिर्नुपर्छ । नेपालका व्यापारीले तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गर्दा २४.३० र सार्क मुलुकअन्तर्गत आयात गर्दा १८.६५ प्रतिशत कर तिर्नुपर्छ ।

कच्चा तेल तेस्रो मुलुकबाटै आयात हुने गरेको छ । प्रशोधित तेल भारत निर्यात गर्दा नेपालमा कर लाग्दैन । अर्थात् दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत भारत निर्यात गर्दा भन्सार छुट हुन्छ । त्यसकारण पनि नेपालमा कच्चा तेल आउने र प्रशोधन भई भारत जाने गरेको जानकार बताउँछन् ।

विभागको चालु आर्थिक वर्षको सातमहिने तथ्यांकमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको देखिन्छ । सोही अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक छ । सर्वाधिक आयात र निर्यात हुने तेलमा भटमासकै तेलको हिस्सा बढी छ । नेपालको वैदेशिक व्यापार भने स्वदेशी वस्तुको निर्यातमा भन्दा भटमास तेलकै वरिपरि घुमेको देखिएको छ । जुन अस्थिर व्यापार हो ।

कच्चा भटमासको तेल अर्जेन्टिना, ब्राजिल, चीन, थाइल्यान्ड, पाराग्वे, युक्रेन, कतारबाट आयात हुन्छ भने प्रशोधित तेल भारतमा मात्रै निर्यात हुने गरेको छ । सबैभन्दा बढी अर्जेन्टिनाबाट ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको ३७ करोड २४ लाख २७ हजार ८१९ लिटर र सबैभन्दा कम कतारबाट एक हजार रुपैयाँको एक लिटर कच्चा भटमासको तेल आयात भएको विभागको तथ्यांक छ ।

नेपालले स्वदेशी वस्तु निर्यात गर्नभन्दा आयातित वस्तु नै प्रशोधन गरेर निर्यात गरेको देखिएको छ । नेपालले सात महिनामा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात गर्दा आन्तरिक उत्पादन अलैंची भने जम्मा ८ अर्ब ६१ करोड रुपैयाँको मात्रै बिक्री गरेको छ । निर्यात हुने वस्तुमा अलैंची दोस्रो नम्बरमा छ भने तेस्रोमा सूर्यमुखीको बिउ र तेल छ । जुन ५ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको छ ।

अलैंची र सूर्यमुखीको बिउ र तेलको बजार भारत मात्रै रहेको विभागको तथ्यांकले देखाउँछ । नेपालले सात महिनामा ५ अर्ब ७१ करोड रुपैयाँको गलैंचा निर्यात गरेको छ । गलैंचाको बजार भने भारतसहित ६४ मुलुकमा छ । सबैभन्दा बढी ३ अर्ब ६१ करोड रुपैयाँको अमेरिकामा र सबैभन्दा कम १४ हजार रुपैयाँको काजकस्तानमा निर्यात भएको हो ।

1

Scroll to Top