चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आ.व. २०८१/८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व ६ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आ.व.को सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ५ अर्ब ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ३ अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
त्यस्तै उक्त सात महिनाको अवधिमा १ अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख मूल्य पर्ने ४ हजार ७३६ किलोलिटर एटिएफ र रु ११ करोड ३० लाख मूल्य पर्ने १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।


