सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँटमा अनियमितता भएको प्रकरणमा प्रहरी अनुसन्धान तीव्र बनेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्डले एक वर्षअघि तयार पारेको जाँच प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो। उक्त प्रतिवेदनमा कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँटमा कीर्ते गरिएको र सीईओ स्वयंले त्यसमा संलग्न भई अधिकांश शेयर कब्जा गरेको आशंका गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर सोमबार अर्याललाई पक्राउ गरिएको जानकारी सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले दिएका छन्।
सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको साधारण शेयर बाँडफाँटमा भएको अनियमिततामा प्रहरीले अनुसन्धान थालेको छ । नेपाल धितोपत्र बोर्डले एक वर्षअघि गरेको जाँचबुझ प्रतिवेदनमा आधारित भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नै कीर्ते गरी कर्मचारीलाई छुट्ट्याएको शेयर कब्जा गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कम्पनीका सीईओ राजकुमार अर्याललाई सोमवार पक्रेको छ । जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएसँगै उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०० मा कम्पनीले लिखत, विवरण वा अभिलेख सुरक्षित राख्नुपर्ने र नष्ट गर्न, झुटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत गर्न नहुने प्रावधान छ । ऐनको प्रावधानविपरीत कम्पनीले शेयर बाँडफाँटसम्बन्धी झुटो विवरण बुझाएर नियामक निकायलाई झुक्याउन खोजेको प्रहरीको आशंका छ । सन नेपालले धितोपत्र बोर्डबाट ९६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको थियो । त्यसको ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि आरक्षण गरिएको थियो । आरक्षित शेयरमध्ये अधिकांश अर्यालले आफैसँग राखेर कर्मचारीलाई थोरै दिएपछि यसविरुद्ध बोर्डमा उजुरी परेको थियो । त्यसपछि बोर्डले छानबिन गरी शेयर पुनः बाँटफाँट गर्न निर्देशन दिनुका साथै सीईओ अर्यालको कीर्ते कामबारे थप अनुसन्धान र कारबाही अघि बढाउन सीआईबीलाई अनुरोध गरेको हो ।
कर्मचारी स्रोतका अनुसार अधिकांश शेयर कब्जा गर्न सीईओ अर्यालले खाली आवेदन फारममा हस्ताक्षर गर्न लगाएर आफूखुशी शेयर कित्ता भरेका थिए । शेयर बाँडफाँटको विषयमा अनुसन्धान शुरू भएपछि उनले उच्च तहका कर्मचारीलाई दबाब दिएर जागिर छाड्नसमेत बाध्य पारेको स्रोतले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषलाई अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा शेयर विक्री गरे पनि कर्मचारीलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमै विक्री गरिएको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सोमवार कारोबार बन्द हुँदा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ४६७ रुपैयाँ ३० पैसा कायम भएको छ ।


