Banijya News

इप्पानद्धारा २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गर्न माग

1
1.1K Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ ।धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भए पनि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण सेयरमात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको हो । इप्पानले बुधबार सिडिएससीलाई पत्राचार गरी सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको छ ।

इप्पानले बुधवार सिडिएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक शेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो । सिडिएससीले संस्थापक शेयर र साधारण शेयरका लागि छुट्टाछुट्टै अन्तरराष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने गैरकानूनी अडान लिएपछि ३ ओटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरूको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन । सिडिएससीको गैरकानूनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेका छन् । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरूले बताएका छन् । लगानीकर्ताहरूलाई थप परियोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि उनीहरुको गुनासो छ ।

ऊर्जा उत्पादक कम्पनीहरूले मौजुदा कानूनअनुसार ३ वर्षसम्म संस्थापक शेयर विक्री गर्न नपाउनेगरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक सेयर विक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सिडिएससीले गैरकानूनी रुपमा दोहोरो आईजीनको कुरा निकालेर शेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरूको भनाई छ ।

दोहोरो आईजीन कायम गरेरमात्र संस्थापक शेयर सूचीकृत गर्ने सिडिएससीको अडानपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी नआउने चेतावनी पनि संघले चेतावनी दिएको थियो । दोहोरो आईजिनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सिडिएससीको ध्यानाकर्षण गराएको थियो ।

इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ मा ८ ओटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ । त्यसैगरी आव २०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

1

Scroll to Top