Banijya News

माउण्ट एभरेष्ट डिष्टिलरीको आईपीओ प्रक्रिया अघि बढ्दै

1
1.1K Shares

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीको प्रथम वार्षिक साधारण सभाले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनी पूँजी बजारमा प्रवेशको तयारीमा जुटेको हो।

कम्पनीद्वारा आयोजित प्रथम वार्षिक साधारण सभा (एजीएम) मा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरिएको कम्पनीले जनाएको छ। सभामा कम्पनीको भावी रणनीति, उत्पादन विस्तार, प्रविधि आधुनिकीकरण तथा बजार विस्तारका विषयमा समेत विस्तृत छलफल भएको थियो।

सभाले आईपीओ निष्कासनलाई कम्पनीको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार सर्वसाधारणमा सेयर जारी गरेपछि पुँजी संरचना थप मजबुत हुने, व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय स्रोत जुट्ने तथा कम्पनीको पारदर्शिता र विश्वसनीयता अझ बढ्ने अपेक्षा गरिएको छ। साथै, पूँजी बजारमार्फत सर्वसाधारणलाई कम्पनीको लगानी साझेदार बनाउने उद्देश्यसमेत रहेको कम्पनीले उल्लेख गरेको छ।

माउण्ट एभरेष्ट डिष्टिलरीले आगामी दिनमा उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ। उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनाअनुसार नयाँ प्रविधिमा आधारित उत्पादन प्रक्रिया सुरु गरिने कम्पनीको भनाइ छ। यसबाट उत्पादन दक्षता वृद्धि हुनुका साथै गुणस्तरमा थप सुधार आउने विश्वास गरिएको छ। कम्पनीले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै उत्पादनको विविधीकरणमा पनि जोड दिने योजना बनाएको छ।

सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको कम्पनीले जानकारी दिएको छ। वित्तीय सुशासन र पारदर्शितालाई बलियो बनाउने उद्देश्यले कम्पनीले लेखापरीक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीका अध्यक्षले माउण्ट एभरेष्ट डिष्टिलरीलाई प्रतिस्पर्धी, दिगो र नवप्रवर्तनशील उद्योगका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले गुणस्तरयुक्त उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा उपभोक्ताको विश्वासलाई केन्द्रमा राखेर कम्पनीलाई अगाडि बढाइने उल्लेख गरे। अध्यक्षका अनुसार कम्पनीले घरेलु बजारमा बलियो उपस्थिति कायम गर्दै भविष्यमा निर्यात प्रवर्द्धनतर्फ पनि ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।

सभामा सहभागी शेयरधनीहरूले कम्पनीले छोटो अवधिमै सकारात्मक व्यावसायिक संकेत देखाएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र दिगो ढंगले अघि बढ्न सुझाव दिएका थिए। उनीहरूले आईपीओ निष्कासनले कम्पनीलाई थप व्यावसायिक उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, व्यवस्थापन समूह, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा व्यवसाय विस्तार, नयाँ उत्पादन प्रवर्द्धन र बजार सुदृढीकरणलाई मुख्य रणनीतिक प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। निजी क्षेत्रको उत्पादनमूलक उद्योगमा लगानी बढ्दै गइरहेका बेला माउण्ट एभरेष्ट डिष्टिलरीको आईपीओ तयारीलाई बजारले चासोका साथ हेरेको छ।

1

Scroll to Top