Banijya News

आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

1
1.0K Shares

सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् ।

सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरेको छ। आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा स्ल्याब परिवर्तन गर्ने गरेको छ । अहिले व्यक्तिगत आयकरको सीमा कम्तीमा १ देखि बढीमा ३९ प्रतिशत छ। तल्लो सीमालाई बढाइएको छ भने माथिल्लो सीमालाई घटाइएको छ ।

‘आयकरको माथिल्लो सीमा ३९ प्रतिशतलाई घटाएर ३३ प्रतिशतमा झारिएको छ भने न्यूनतम वार्षिक ६ लाख आम्दानीमा लाग्ने १ प्रतिशत करको सीमालाई बढाएर ८ लाख रुपैयाँ बनाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘माथिल्लो सीमालाई घटाउँदा धेरै तलब खाने करदातालाई बोझ कम हुन्छ भने तल्लो सीमा बढाउँदा न्यून आय भएका मध्यम वर्गलाई राहत मिल्छ । ठूला र साना दुबै खाले करदातालाई सहज हुने गरी स्ल्याव परिवर्तन गरिएको छ ।’

त्यसैगरी, ६ देखि ८ लाख, ८ देखि १२ लाख र १२ देखि २० लाख रुपैयाँको आम्दानीमा लाग्ने करलाई पनि घटाइएको छ । ‘संस्थागत आयकरको २५ देखि ३० प्रतिशतको सीमालाई पनि अवस्था हेरेर घटाइएको छ’ स्रोतले भन्यो ।

नेपालमा व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर बढी भएको गुनासो लामो समयदेखि सरोकारवालाहरुले गर्दै आएका थिए । एकातिर झन्झटिलो प्रशासन र अर्कातिर करको बोझका कारण लगानीकर्ताहरु नेपालमा आकर्षित हुन नसकेको बताइरहेको बेला सरकारले कर घटाएको हो ।

1

Scroll to Top