Banijya News

सातै प्रदेशको बजेट आउँदै, बजेट कार्यान्वयनमा कुन प्रदेशको अवस्था कस्तो ?

1
1.0K Shares

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले असार १ गते आ–आफ्नो वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार असार १ भित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार सबै प्रदेशले एकै दिन बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारहरूले यसअघि नै नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेकाले बजेट प्रस्तुतिको औपचारिक प्रक्रिया आजदेखि सुरु हुँदैछ । सातै प्रदेशले केन्द्र सरकारजस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् ।

कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ । त्यसपछि कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट ल्याउने तयारी गरेका छन् भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्नेछन् ।

संघीय सरकारले जेठ १५ मा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् । तर, सबैजसो प्रदेशको चालु आवको बजेट कार्यान्वयन अवस्था भने सन्तोषजनक छैन । केन्द्र सरकारजस्तै प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर नै देखिन्छ ।

बजेटको पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारले आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार फागुन २०८२ सम्मका तथ्यांकमा आधारित रहेर सर्वेक्षण सार्वजनिक गरिएको हो । बागमती प्रदेश नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी हिस्सा ओगट्ने प्रदेश होे । चालु आव नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रहने अनुमान गरिएकोमा सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रहने छ ।

बागमतीले चालु आवमा ६७ अर्ब ४७ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, फागुन मसान्तसम्म खर्च भने २२.३० प्रतिशतमात्र भएको छ । यो अघिल्लो आव २०८१/८२ को तुलनामा ११.९३ प्रतिशत कम हो । त्यस्तै, दोस्रो चौमासिक अवधिसम्म बागमतीमा चालु खर्च विनियोजनको ३०.५६ प्रतिशत अर्थात् ७ अर्ब ९५ करोड र पूँजीगत खर्च विनियोजनको १७.१२ प्रतिशत अर्थात् ७ अर्ब ९ करोडमात्र खर्च हुन सकेको छ । त्यस्तै, यस अवधिमा प्रदेश सरकारले ६७ अर्ब ४७ करोड रुपैयाँ बराबर आय हुने अनुमान गरेकोमा ३८ अर्ब ७८ करोड अर्थात् लक्ष्यको ५७.४८ प्रतिशत बराबर आय गरेको छ । जुन अघिल्लो आवको तुलनामा कमजोर प्रदर्शन हो । त्यस्तै, चालु आवमा बागमती प्रदेशले आन्तरिक आय र राजस्व बाँडफाँटबाट ३५ अर्ब ६६ करोड संकलन अनुमान गरेको थियो । तर, फागुनसम्म १६ अर्ब ४६ करोडमात्र संकलन भएको छ ।

त्यस्तै, मधेस प्रदेशले पनि आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । यस प्रदेशले नेपालको जीडीपीमा १३.१ प्रतिशत हिस्सा ओगट्छ । मधेसको अर्थतन्त्रको आकार ८ खर्ब ६३ अर्ब रुपैयाँ बराबर छ । चालु आवमा मधेस प्रदेशले पछिल्लो ८ वर्षयताकै सर्वाधिक ठूलो आकारको बजेट कार्यान्वयन गरिरहेको छ । ४६ अर्ब ९८ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको मधेसले फागुनसम्म ५ अर्ब ४६ करोडमात्र खर्च गर्न सकेको छ । जुन लक्ष्यको ११.६३ प्रतिशत हो ।

यस आवको ८ महिनामा चालु खर्च ३ अर्ब ४१ करोड अर्थात् लक्ष्यको २०.७४ प्रतिशत र पूँजीगत खर्च २ अर्ब ४ करोड अर्थात् ६.७१ प्रतिशत मात्र भएको छ । चालु आवमा ४६ अर्ब ९८ करोड आम्दानी गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म २० अर्ब २६ करोडमात्र आय गरेको छ, जुन लक्ष्यको ४३.१२ प्रतिशत हो । बजेट खर्च कमजोर हुँदा चालु आवमा लिएका सबैजसो लक्ष्य अधुरै रहन पुगेका छन् ।

बजेटको पूर्वसन्ध्यामा कोशी प्रदेशले समेत आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणअनुसार कोशी प्रदेशले नेपालको जीडीपीमा १५.८ प्रतिशत अर्थात् १० खर्ब ४३ अर्ब योगदान गरेको छ । चालु आवमा कोशी प्रदेशको बजेट ३५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । वैशाखसम्म कुल प्रादेशिक खर्च १३ अर्ब ७ करोड ११ लाख अर्थात् विनियोजनको ३६.२९ प्रतिशतमात्र भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा कोशी प्रदेशले २ सय १ कृषि उद्यमीलाई ३६ करोड १७ लाख कृषि कर्जा उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कोशी प्रदेशमा पनि बजेट कार्यान्वयन कमजोर हुँदा चालु आवमा लिएका धेरैजसो लक्ष्य पूरा हुन सक्ने देखिँदैन ।

उता, कर्णाली प्रदेशमा चालु आवका लागि ३२ अर्ब ९९ करोड रुपैयाँबराबरको बजेट घोषणा भएको थियो । कर्णालीले पुँजीगततर्फ १९ अर्ब ९८ करोड र चालुतर्फ ७ अर्ब ७९ करोड बजेट विनियोजन गरेको थियो । चैतसम्मको तथ्यांकअनुसार ८ अर्ब ३ करोड रुपैयाँमात्र खर्च भएको छ, जुन लक्ष्यको २४.३५ प्रतिशत हो । यस अवधिमा चालु खर्च ३६.६७, पूँजीगत १७.१६ र वित्तीय व्यवस्थातर्फ ९.८१ प्रतिशतमात्र खर्च भएको तथ्यांक छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटमध्ये २३ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत तथा १५ अर्ब ४३ करोड रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको थियो। वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस प्रदेशले लक्ष्यको ३९.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशले चालु आवमा ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । सुदूरपश्चिमले चालुतर्फ १० अर्ब २० करोड र पुँजीगततर्फ १९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको थियो । तर, वैशाख मसान्तसम्म ९ अर्ब ३३ करोड मात्र खर्च भएको छ, जुुन लक्ष्यको २७.८७ प्रतिशत मात्र हो ।

प्रदेश सरकारहरुको यी तथ्यांक हेर्ने हो भने चालु आवमा सबै प्रदेशहरु बजेट कार्यान्वयनमा कमजोर देखिएका छन् । चालु आवमा कुनै पनि प्रदेशले ५० प्रतिशत बजेट कार्यान्वयन गर्न सक्ने देखिँदैन । साथै, प्रदेशको आम्दानी पनि लक्ष्यअनुसार पूरा हुने सम्भावना न्यून देखिन्छ ।

1

Scroll to Top