प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ । असार १४ गते आइतबार बसेको प्रतिनिधिसभा बैठकमा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका आयोजनामा परिचालन गरिने बताए । उनले विदेशी ऋण मुख्यतः पूर्वाधार आयोजनाका लागि आउने उल्लेख गरेका छन् । त्यस्ता आयोजनाले आर्थिक गतिविधि विस्तार, यातायात दूरी घटाउने तथा उत्पादन लागत कम गर्न सहयोग गर्ने अर्थमन्त्री वाग्लेले बताए ।
तर, ऋण लिएर निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाले फरक सन्देश दिएको उल्लेख गर्दै त्यस्ता परियोजनाको प्रभावकारिता र प्रतिफलमाथि निरन्तर निगरानी आवश्यक रहेको धारणा राखे ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराएका संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएका थिए भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
त्यस्तै, प्रतिनिधि सभाबाट आर्थिक विधेयकसमेत बहुमतले पारित भएको छ । आर्थिध विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको छ ।
प्रक्रिया सक्नुअघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।


