पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको छ । यसले गर्दा वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्ना शाखा कार्यालय बन्द गर्न थालेका हुन् । यसै क्रममा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १४९ वटा शाखा बन्द गरेका छन् । खासगरी वाणिज्य बैंक तथा विकास बैंकहरूले महानगरपालिकाभित्र रहेका धेरै शाखा बन्द गरेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयमले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको सो व्यवस्थापछि केन्द्रीय बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै शाखा एकीकरण गर्न सक्ने व्यवस्था गर्यो । तर, शाखा हटाए पनि कार्यरत कर्मचारी कटौती गर्न केन्द्रीय बैंकले बन्देज गरेको गर्यो ।
सोही व्यवस्थाअनुसार काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिकामा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा गाभिएका छन् । तर, चालु आर्थिक वर्षको वैशाखसम्ममा भने बैंक वित्तीय संस्थाका १४९ शाखा घटेका छन् ।
वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढेकाले महानगरपालिकाभित्र धेरै संख्यामा शाखा भएका बैंक तथा वित्तीय संस्थालाई समायोजनको नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्दा ग्राहकले पाइरहेको सुविधामा कटौती हुन नहुने र कर्मचारी पनि कटौती गर्न नपाइने शर्तमा मात्रै समायोजन गर्न सकिने उनको भनाइ थियो ।
त्यस्तै, शाखा बन्द गरेपछि कर्मचारीलाई विकट क्षेत्रमा सरुवा गरेर असुविधामा पार्न नपाइने साथै अपायक स्थानमा सरुवा गरेर छोड्न बाध्य बनाएमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने उनको भनाइ छ ।
केन्द्रीय बैंकको समायोजन नीतिअघि पनि बैंक वित्तीय संस्थाका शाखा घटेका थिए । चालु आर्थिक वर्षको १० महिनासम्म वाणिज्य बैंकका १४१ वटा शाखा कार्यलय बन्द भएका छन् भने विकास बैंकका १५ वटा शाखा कार्यालय घटेको केन्द्रीय बैंकले जनाएको छ । तर, यो अवधिमा फाइनान्स कम्पनीका भने २ शाखा कार्यालय थप भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । शाखा समायोजन नीतिसँगै मर्जरमा गएका संस्थाले पनि शाखा समायोजन गर्दा संख्या घटेका हुन् ।
एक बैंकरका अनुसार, केन्द्रीय बैंकले शाखा समायोजनको नीति उपयुक्त समयमा ल्याएको हो । ग्राहक वित्तीय कारोबारका लागि बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढेको थियो । केन्द्रीय बैंकको यो व्यवस्थाले बैंकहरुको खर्च पनि कम हुने र डिजिटल कारोबार थप बढ्ने उनको बुझाइ छ ।
केन्द्रीय बैंकको शाखा समायोजन नीतिपछि एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ४४ वटा शाखा बन्द भएका छन् । त्यसैगरी, कुमारी बैंकले २४ र नपाल इन्भेस्टमेन्ट मेगा बैंकले १८ शाखा समायोजन गरेका छन् । प्रभु बैंकले १२ वटा समायोजन गरेको छ भने एभरेस्ट बैंकले १, प्राइम कमर्सियल बैंकले ७, एनएमबी बैंकले ४ वटा शाखा समायोजन गरेका छन् । महानगरपालिकाभित्र धेरै शाखा भएका महालक्ष्मी विकास बैंकले ४, मुक्तिनाथ विकास बैंकले २ र सप्तकोशी विकास बैंकले २ शाखा समायोजन गरेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको नीतिअनुरुप समायोजन तथा मर्जरपछि १४९ शाखा घटेसँगै चालु आवको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या ४ हजार ९ सय ६३ रहेको छ । त्यस्तै, २०८२ असारमा विकास बैंकको शाखा संख्या १ हजार १३२ रहेकोमा २०८३ वैशाखसम्म आइपुग्दा १ हजार ११९ मा सीमित भएको छ ।


