बैंकास्योरेन्स पुनः सञ्चालन गनुपर्ने प्राधिकरणको अभिव्यक्ति आएपछि बीमा अभिकर्ताहरुले आपत्ति जनाएका छन् । बीमा अभिकर्ताका प्रतिनिधिहरुद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेरै बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका हुन् ।
बीमा प्राधिकरणका एक उच्च पदाधिकारीले एक कार्यक्रममा बैंकास्योरेन्सको प्रस्ताव अघि बढाउन नियामकीय प्रावधानमा समस्या नरहेको अभिव्यक्ति आएसँगै अभिकर्ताका प्रतिनिधिहरुले प्राधिकरणमा नै पुगेर यस विषयमा ध्यानाकर्षण समेत गराएका थिए । चरम विकृतिपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत बन्द गरेको बैंकास्योरेन्स पुनः सञ्चालन गनुपर्ने प्राधिकरणको अभिव्यक्तिप्रति अभिकर्ताहरुको विमति रहेको छ ।
तर, प्राधिकरणले यस अघि पनि अभिकर्ताको हित विपरितको काम गर्दै आइरहेको हुँदा अभिकर्ताका प्रतिनिधिहरु राष्ट्र बैंकका गभर्नर पौडेलसँग भेटेर नै बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका हुन् । यसअघि बैंकास्योरेन्स सुचारु हुँदा नै भएका बेथितीहरुको बारेमा बीमा अभिकर्ताकाहरुले गभर्नर पौडेललाई सपष्ट पारेका थिए ।
बीमा पोलिसी सरेण्डरको रिकभर आजसम्म नभएको र त्यसले सम्रग बीमा क्षेत्र र अभिकर्ताको रोजीरोटीमा पार्ने असरको विषयमा अवगत गराएका थिए । भेटघाटका क्रममा गभर्नर पौडेलले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव हुने काम राष्ट्र बैकबाट नहुने आश्वासन अभिकर्ताहरुलाई दिएका छन् ।
बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने जीवन बीमक संघले बताउँदै आएको थियो । बैंकमार्फत व्यवसाय गर्न सके जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने उनीहरुको विश्वास छ । यद्यपि, बैंकास्योरेन्सको विकृतिका कयौं मुद्दाहरु अझै बीमा प्राधिकरणमा बाँकी नै छ ।
बीमा अभिकर्ताको रोजीरोटी खोसिने अवस्था सिर्जना भएसँगै कम्पनी र प्राधिकरणसँग लामो आन्दोलन र छलफलपछि रोकिएको बैंकास्योरेन्स पुन सञ्चालनमा ल्याउन प्रयास भइरहेको हुँदा यतिबेला अभिकर्ताहरु सजग भएका छन् । बैंकास्योरेन्सका नाममा बैंकहरुले अप्रत्यक्ष रुपमा बीमा एजेण्टको रुपमा काम गर्दै आएको भन्दै बीमा अभिकर्ताहरु रुष्ट भएको कारण बन्द गराएको थियो ।
यो विषय पुनः सुचारु गर्ने विषयले बीमा अभिकर्ताहरु झस्किएका हुन् । यसअघि नेपाल जीवन बीमक संघले औपचारिक रुपमा निर्णय गरेरै बैंकास्योरेन्स खोल्नुपर्ने माग राष्ट्र बैंकसमक्ष गरेको थियो । बीमा अभिकर्ताहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् ।


