Banijya News

आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष पनि असार २७ मै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने भएका छन् ।

विगतका वर्षहरुमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति सार्वजनिक हुने गरेको थियो । तर, गभर्नर पौडेलको भुटानमा हुने सार्क बैठकका लागि भ्रमणमा जाने तालिका रहेकाले मंगलबार नै ल्याउन खोजिएको बुझिएको छ । गभर्नर डा. पौडेल सार्क क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरूको उच्चस्तरीय बैठकमा भाग लिन भोलि असार २४ गते भुटान प्रस्थान गर्दैछन् । गभर्नरको अनुपस्थितिमा कामु गभर्नरले मौद्रिक नीति जारी गर्नु व्यावहारिक र नीतिगत रूपमा उपयुक्त नहुने भएकाले पौडेल आफैँ उपस्थित भएर भ्रमणअगावै नीति सार्वजनिक गर्न लागिएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

त्यसो त, राष्ट्र बैंकले साउन १ गते अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै नीति कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । विगतमा साउनको दोस्रो सातातिर नीति आउँदा बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ आर्थिक वर्षको व्यावसायिक रणनीति बनाउन ढिलाइ हुने गरेको थियो । यसले गर्दा पनि यस पटक साउनको सुरुवातदेखि नै बैंकिङ प्रणाली र बजारले नयाँ मौद्रिक औजार र ब्याजदर करिडोरअनुसार काम गर्न सहज हुने देखिन्छ ।

अहिले बैंकहरूमा तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन नसकेको, बजारमा माग घटेको र खराब कर्जा बढेको अवस्था छ । सरकारले बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ, सो लक्ष्य भेट्टाउन पनि बजारमा तुरुन्तै उत्साह भर्नुपर्ने दबाब राष्ट्र बैंकमाथि छ । मौद्रिक नीति ल्याउन ढिलाइ हुँदा बजार पर्ख र हेरको अवस्थामा रहने भएकाले गभर्नरले असारमै लचिलो नीति ल्याएर निजी क्षेत्रको मनोबल उकास्न चाहेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

यसअघि पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति साउन ११ गते आएको थियो । त्यसअघि २०८०/८१ को नीति साउन ७ गते र २०७९/८० को नीति साउन ६ गते सार्वजनिक गरिएको थियो ।

1

Scroll to Top