राष्ट्रिय सभाबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । राष्ट्रिय सभाको आज विहीबार बसेको बैठकले सो विधेयक पारित गरेको हो ।
अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलमा भाग लिँदै सभाका सदस्य डा. प्रेम दंगाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरेका थिए ।


