सहकारी क्षेत्रमा देखिएको बेथिति नियन्त्रण, बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया प्रभावकारी बनाउने तथा नियामकीय संयन्त्रलाई थप बलियो बनाउने उद्देश्यका साथ सरकारले ल्याएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।
यसअघि अध्यादेशमार्फत लागू गरिएका अधिकांश व्यवस्थालाई निरन्तरता दिँदै संसद्ले केही महत्वपूर्ण संशोधनसमेत थपेर विधेयक पारित भएको छ । विधेयकले विशेषगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामाथि कडा नियमनको व्यवस्था गरेको छ । अब त्यस्ता सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) लिनुपर्नेछ भने त्यसको वार्षिक नवीकरण पनि अनिवार्य गरिएको छ ।
प्राधिकरणले निर्देशन पालना नगर्ने, वित्तीय विवरण नबुझाउने वा सदस्यको हितविपरीत काम गर्ने सहकारीको इजाजतपत्र निलम्बन गर्न सक्ने र निलम्बन अवधिभर कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।
विधेयकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको स्पष्ट परिभाषा गरेको छ । कुल सम्पत्ति वा दायित्वमा बचत वा ऋणको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेका वा २५ करोड रुपैयाँभन्दा बढी बचत वा ऋण परिचालन गरेका संस्थालाई यस्तो सहकारीको रूपमा परिभाषित गरिएको छ ।
सहकारी क्षेत्रमा नियमन थप प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई व्यापक अधिकार दिइएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको अनुगमन, निरीक्षण, सुपरिवेक्षण तथा विशेष निरीक्षण गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । आवश्यक परे नेपाल राष्ट्र बैंकसहित अन्य निकायसँग समन्वय गरी निरीक्षण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
बचतकर्ताको रकम सुरक्षित बनाउन सबै बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई निक्षेप तथा कर्जा सुरक्षा कोषको सदस्य बन्नुपर्ने व्यवस्था गरिएको छ । सदस्यता लिएपछि त्यसको अद्यावधिक विवरण नियमित रूपमा प्राधिकरणमा बुझाउनुपर्ने कानुनी दायित्वसमेत थपिएको छ ।
विधेयकले समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिमाथि थप कडाइ गरेको छ । समस्याग्रस्त घोषणा गर्नुअघि नै रजिस्ट्रार वा प्राधिकरणले सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति तथा हिनामिनामा संलग्न देखिएका व्यक्तिको चल–अचल सम्पत्ति, बैंक खाता, सेयर, ऋणसम्बन्धी कागजात र विद्युतीय अभिलेख रोक्का राख्न सक्नेछ । आवश्यक परे उनीहरूको विदेश यात्रासमेत रोक्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै, समस्याग्रस्त संस्था वा संघका सञ्चालक, पूर्व सञ्चालक, व्यवस्थापक, कर्मचारी, उपसमिति तथा उनीहरूका परिवार वा नातेदारले बचतकर्ताको रकम अन्य व्यवसाय वा कम्पनीमा लगानी गरेको पाइए त्यस्तो सम्पत्ति कब्जामा लिएर लिलाम बिक्रीमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी आधार पनि विधेयकले दिएको छ ।
यसका लागि ‘परिवार’ र ‘नातेदार’ को परिभाषा समेत उल्लेखनीय रूपमा फराकिलो बनाइएको छ । लगातार दुई वर्ष कारोबार नगरेका, लिक्विडेसन वा समस्याग्रस्त सहकारीका सदस्यको हकमा अंशबन्डा, मानो छुट्टिएको वा सम्बन्धविच्छेद भइसकेका सदस्यलाई समेत परिवारभित्र समेटिएको छ । साथै, काका, काकी, मामा, भिनाजु, ज्वाइँ, भाञ्जा, साला, साली, जेठान, फुपू, दाजुभाइ लगायत विस्तृत नातेदारलाई कानुनी दायराभित्र ल्याइएको छ ।
यसैगरी सहकारी संघहरूले अब बचत तथा ऋणको कारोबार गर्न रोक लगाएको छ । हाल त्यस्तो कारोबार गरिरहेका संघले तीन वर्षभित्र पूर्ण रूपमा बन्द गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ । त्यस्तै, विधेयकले सहकारी संस्थाले वितरण गर्न सक्ने लाभांशमा पनि अधिकतम १५ प्रतिशतसम्म मात्र दिन सकिने सीमा तोकेको छ ।
अध्यादेशमा केही संशोधन
प्रतिनिधिसभाले अध्यादेशलाई जस्ताको तस्तै पारित नगरी केही संशोधनसमेत गरेको छ । विधेयकमा सहकारीका डिफल्टर ऋणीबाट उठ्न बाँकी ब्याज रकमको अधिकतम ५ प्रतिशतसम्म हर्जाना असुल गर्न सकिने व्यवस्था राखिएको छ । अध्यादेशमा यस्तो व्यवस्था थिएन ।
त्यस्तै, ब्याजदर गणनाका विषयमा पनि स्पष्ट व्यवस्था गरिएको छ । सन्दर्भ ब्याजदर लागू भइसकेको अवधिको हकमा सोही दर लागू हुने र त्यसअघि भएका ऋणमा लिखतमा उल्लेख भएको ब्याजदरलाई आधार मानी असुली गर्न सकिने व्यवस्था गरिएको छ । साथै, हर्जाना रकम उठ्न बाँकी ब्याजको पाँच प्रतिशतभन्दा बढी लिन नपाइने प्रावधानसमेत थपिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली तथा बचतकर्ताको रकम लुकाएको सन्दर्भमा जफत तथा बिक्री गर्न प्रक्रियागत जटिलता भोग्दै आएका थिए । उक्त जटिलतालाई पनि सम्बोधन गरेर विधेयक स्वीकृत भएको छ । संसद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई बचतकर्ताको रकम लुकाइएको सम्पत्ति जफत, बिक्री तथा असुली गर्न कानुनी प्रक्रिया थप स्पष्ट बनाएको छ ।
परिवारको परिभाषा विस्तार गरी अंशबन्डा, मानो छुट्टिएको वा सम्बन्धविच्छेदलाई आधार बनाएर सम्पत्ति लुकाउने प्रवृत्तिलाई पनि कानुनी रूपमा रोक्ने व्यवस्था गरिएको छ ।


