शेयर धितो कर्जालाई बढी प्रभावकारी र व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । राष्ट्र बैंकले संस्थाको सबलताको आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने गरी तयारी थालेको हो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थाको सबलताको आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने उल्लेख गरिएको छ । मौद्रिक नीतिमा भएको सोही घोषणा अनुसार शेयर धितो कर्जाको व्यवस्थापनका लागि नयाँ मापदण्ड बनाउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलको भनाइ छ ।
पौडेलका अनुसार, अब शेयर धितो कर्जाको सीमा संस्थाको वित्तीय सबलताका आधारमा तय हुनेछ । बैंक तथा वित्तीय संस्थाले नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्थाका आधारमा फरक फरक ‘लोन टू भ्यालू रेसियो’ निर्धारण गरेर शेयर धितो कर्जा प्रवाह गर्न पाउनेछन् । यसले विगत लामो समयदेखि चल्दै आएको एकै किसिमको परिपाटीको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।
हालको व्यवस्था अनुसार नेपालको बैंकिङ प्रणालीमा कुनै पनि सूचीकृत कम्पनीको शेयर धितो राखेर कर्जा प्रवाह गर्दा कम्पनीको वित्तीय अवस्थाले खासै फरक पार्दैनथ्यो । तर, नयाँ मापदण्ड लागू भएपछि बजारमा वित्तीय रूपमा बलिया तथा राम्रा कम्पनीहरूको शेयर धितो राख्दा बढी कर्जा पाइनेछ भने कमजोर वित्तीय सूचक भएका कम्पनीहरूको शेयरमा कर्जाको सीमा कम हुनेछ ।
यसका लागि कम्पनीलाई वित्तीय सूचकको आधारमा सबल र कमजोर वर्गमा छुट्याइनेछ । नेप्सेमा सूचीकृत कम्पनीको पछिल्लो १८० दिनको औसत अन्तिम मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म कर्जा दिन पाउनेछन् । कम्पनीको वर्गीकरणको आधारमा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको सीमा निर्धारण गर्न पाउँछन् ।
केन्द्रीय बैंकका अनुसार, पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर नाफामा रहेका, लगातार लाभांश वितरण गरेका र उच्च नेटवर्थ कायम गरेका कम्पनीलाई अब्बल कम्पनीको रूपमा वर्गीकरण गरिने भएको छ । यस्ता कम्पनीको शेयर तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिने भएकाले बैंकहरूले उच्च ‘लोन टु भ्यालु रेसियो’ कायम गरी बढी रकमसम्म शेयर धितो कर्जा प्रवाह गर्न पाउनेछन् । यसको विपरीत लगातार नाफा आर्जन गर्न असफल, नियमित लाभांश वितरण गर्न नसकेका र कमजोर नेटवर्थ भएका कम्पनीलाई कमजोरमा वर्गिकरण गरिनेछ । यस्ता कम्पनीको शेयर धितोमा भने कम कर्जा प्रवाह हुनेछ ।
शेयर धितो कर्जामा यसअघि राष्ट्र बैंकले सीमसमेत तोकेको थियो । आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकले शेयर धितो कर्जामा एउटा बैंकबाट अधिकतम ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र ऋण लिन पाउने सीमा तोकेको थियो । तर, लगानीकर्ताहरूले यसको चौतर्फी विरोध गरेपछि ४ करोडको सीमा हटाई एकमुष्ट १२ करोड बनाइयो । त्यसपछि साना लगानीकर्तालाई प्रोत्साहन गर्ने भन्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्मको सीमा कायम गरियो ।
विगतमा कर्जा सीमा मात्र तोकेको राष्ट्र बैंकले यसपटक भने संस्थाको सबलता मापन गरेर कर्जा दिने नीति ल्याउने तयारीमा जुटेको छ । शेयर धितो कर्जामा राष्ट्र बैंकले गर्न लागेको नयाँ व्यवस्थाले नेपाली शेयर बजारमा सकारात्मक प्रभाव पार्ने शेयर विश्लेषकहरुको बुझाइ छ ।
यो नीति लागू भएको अवस्थामा सेयर बजारमा गुणस्तरीय कम्पनीप्रति आकर्षण बढ्न सक्छ । बैंकिङ, बीमा, जलविद्युत्, उत्पादनमूलक वा अन्य कुनै पनि समूहमा वित्तीय रूपमा बलिया कम्पनीले तुलनात्मक रूपमा बढी लाभ लिन सक्छन् । राम्रो पूँजी संरचना, नियमित आम्दानी, पारदर्शी व्यवस्थापन र बलियो वित्तीय सूचक भएका कम्पनीका सेयरमा संस्थागत तथा दीर्घकालीन लगानीकर्ताको चासो बढ्न सक्छ ।विश्लेषकका अनुसार, संस्थागत लगानीकर्ताहरुका लागि यो नीति प्रभावकारी हुने देखिएको छ । बलिया कम्पनीहरूको शेयर धितो राखेर कर्जा लिन सहज र बढी रकम पाइने हुँदा लगानीकर्ताको आकर्षण राम्रा कम्पनीहरूमा केन्द्रित हुँदा यसले बजारमा स्वस्थ लगानीको वातावरण बनाउँछ । तर, बजारमा कर्नरिङ गरेर मूल्य आकाशिएका कम्पनीहरूको शेयरमा बैंकहरूले चाहेर पनि धेरै ऋण दिन पाउने छैनन् । यसले साना लगानीकर्तालाई जोखिमपूर्ण कम्पनीमा फस्नबाट जोगाउन सक्ने देखिन्छ ।


