सरकारले चालु आर्थिक वर्ष २०८३/८४को पहिलो दिन साउन १ गतेदेखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्ताका लागि पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । नयाँ कर व्यवस्थाअनुसार महिनामा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो ।
यसका लागि नेपाल विद्युत् प्राधिकरणले आफ्नो बिलिङ प्रणालीमा आवश्यक प्राविधिक सुधार तथा सफ्टवेयर स्तरोन्नतिको काम तीव्र बनाएको जनाएको छ । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार, साउन १ देखि जारी हुने सबै बिलमा नयाँ कर प्रणाली स्वतः लागू हुने गरी सफ्टवेयर परिमार्जन भइरहेको छ । यसका लागि प्राधिकरण स्वयं पनि भ्याटमा दर्ता भइसकेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार, देशभर रहेका करिब ५६ लाख ४० हजार घरायसी ग्राहकमध्ये झन्डै ५४ प्रतिशत उपभोक्ता नयाँ भ्याट व्यवस्थाबाट प्रभावित हुने छैनन् । ५० युनिटसम्म विद्युत् खपत गर्ने करिब ३० लाख ग्राहकले हालकै दरमा विद्युत् महसुल तिर्न पाउनेछन् ।
प्राधिकरणको अनुसार, ५० युनिटभन्दा बढी खपत गर्ने करिब २६ लाख घरायसी ग्राहक भने नयाँ व्यवस्थाको दायरामा पर्नेछन् । यीमध्ये ५१–१०० युनिट, १०१–२५० युनिट र २५० युनिटभन्दा बढी खपत गर्ने ग्राहक नयाँ कर व्यवस्थामा समावेश हुनेछन् ।
प्राधिकरणले ५० युनिट नाघ्नेबित्तिकै सम्पूर्ण बिलमा भ्याट लाग्ने भन्ने भ्रमलाई प्रष्ट पार्ने प्रयास गरेको छ । नयाँ व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको महसुलमा कुनै भ्याट लाग्ने छैन । ५० युनिटभन्दा माथिको अतिरिक्त खपतको महसुलमा मात्र ५ प्रतिशत भ्याट गणना गरिने प्राधिकरणले जनाएको छ ।
औद्योगिक, व्यावसायिक तथा अन्य गैर–घरायसी ग्राहकका लागि भने साउन १ गतेदेखि १३ प्रतिशत भ्याट लागू हुनेछ । यद्यपि, भ्याटमा दर्ता भएका उद्योगहरूले तिरेको भ्याटलाई कर समायोजन (इनपुट ट्याक्स क्रेडिट) गर्न सक्ने भएकाले यसको प्रत्यक्ष भार सीमित रहने अपेक्षा गरिएको छ ।


