Banijya News

स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता–चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा प्रम शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउने, बजार प्रवद्र्धन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको बताएका हुन् ।

छलफलका क्रममा प्रम शाहले जुत्ता निर्माण क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारको सहकार्यमा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्ने जानकारी दिएका छन् । नेपाली जुत्ता–चप्पलको पहिचान निर्माण, प्रचारप्रसार तथा बजार विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यसैगरी, उद्योगको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चा पदार्थ आयात व्यवस्थापनलाई व्यवस्थित बनाउने साथै आयातसम्बन्धी विवरणको अनुगमन र अभिलेख प्रणालीलाई प्रभावकारी बनाइने बताइएको छ । स्वदेशी उद्योगको संरक्षण र उत्पादन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राख्ने शाहको भनाइ थियो ।

त्यस्तै, छलफलमा सहभागी संस्थाका प्रतिनिधिहरूले जुत्ता–चप्पल क्षेत्रमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले भारतसँग जोडिएका विभिन्न नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नआएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन उत्पादनको आयात रोक्न माग गरेका छन् ।

साथै, आयातित जुत्ता–चप्पलको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारले उद्योगमैत्री नीति, बजार संरक्षण र आवश्यक सहयोग उपलब्ध गराए स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने धारणा राखेका छन् ।

छलफलमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा संघका सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो ।

1

Scroll to Top