अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक चलिरहेको छ ।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा बजेट कार्यान्वयनका प्राथमिकता, मन्त्रालयगत जिम्मेवारी, अन्तरमन्त्रालय समन्वय तथा कार्यान्वयनको गति प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित बजेट कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहेको छ ।
बैठकमा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका कार्यक्रमहरूलाई समयमै कार्यान्वयनमा लैजान, मन्त्रालयबीचको समन्वयलाई प्रभावकारी बनाउन तथा बजेटको लक्ष्यअनुसार परिणाम हासिल गर्ने विषयमा बैठक केन्द्रित रहनेछ ।
सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बेला अर्थमन्त्रीले मन्त्रालयगत नेतृत्वसँग प्रत्यक्ष छलफल सुरु गरेपछि बजेट कार्यान्वयनले थप गति लिने अपेक्षा गरिएको छ ।


