Banijya News

सेयर बजार सुदृढ बन्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, जायज माग सम्बोधन गर्ने प्रमको आश्वासन

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सोमबार आयोजित उक्त बैठकमा सेयर लगानीकर्ताहरुले बजारमा माग बढाउने किसिमको वातावरण बनाउन आग्रह गरेका छन् ।

बैठकमा सेयर लगानीकर्ताहरुले पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान गरी लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने देखिएको बताएका छन् । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलका अनुसार, बजारमा बढ्दो सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउन माग पक्ष सुदृढ बनाउनुपर्ने र संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्ने स्थिति रहेको प्रधानमन्त्रीसमक्ष जानकारी दिएका छन् । साथै, बैठकमा कर प्रणालीमा सुधारको विषय पनि राखेको बताइएको छ ।

बैठकमा सहभागी एक ब्रोकरका अनुसार, प्रधानमन्त्री शाहले बजार घट्नुको प्राविधिक र नीतिगत कारणबारे निकै गहिरो चासो राखेका थिए । सो अवसरमा ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूले बजार सुधारका लागि तत्काल चाल्नुपर्ने कदमहरूको विस्तृत सूची (कार्ययोजना) प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। उक्त कार्ययोजनामा धितोपत्र बोर्ड, राष्ट्र बैंक र अर्थ मन्त्रालयले गर्नुपर्ने सुधारका बुँदाहरू समेटिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले पनि प्रधानमन्त्रीलाई नेपाल राष्ट्र बैंकमार्फत ब्रोकरहरूले मार्जिन लेन्डिङ सञ्चालन गर्न पाउने गरी आवश्यक नियामकीय व्यवस्था गर्न साथै गैरआवासीय नेपालीहरूलाई ‘फास्ट ट्रयाक’ मार्फत बजारमा भित्र्याउन सुझाव दिएको बताएका छन् ।

छलफलका क्रममा लगानीकर्ता र ब्रोकरहरूले नेपाल राष्ट्र बैंकका कतिपय नीतिहरू शेयर बजारमैत्री नभएको गुनासो गरेका छन्। बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा लगानी गरेपछि कम्तीमा ६ महिनासम्म बिक्री गर्न नपाउने हालको व्यवस्था खारेज गर्नुपर्ने माग गरेका छन्। साथै, ब्रोकरमार्फत लगानीकर्ताहरूलाई मार्जिन कर्जा सहज बनाउन बैंकहरूले ब्रोकरलाई ’होलसेल’ कर्जा उपलब्ध गराउने नियम ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउन, दक्ष जनशक्ति र नयाँ लगानीका औजारहरू विकास गरेर बजारलाई आधुनिक बनाउनसमेत सुझाव दिइएको छ । त्यस्तै, धितोपत्र बोर्डको कार्यशैलीमा सुधारको माग गर्दै लगानीकर्ताले हाल कायम रहेको १० कित्ते नीति हटाउन र स्वस्थ बजारका लागि योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउनुपर्ने सुझाव प्रधानमन्त्रीसमक्ष राखेका छन् । साथै, बजारको भोल्युम र आत्मविश्वास बढाउनका लागि ‘इन्ट्रा–डे’ कारोबार सुरु गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

भेटका क्रममा लगानीकर्ताका सुझावलाई प्रधानमन्त्रीले ध्यान दिएर सुनेको र बजार सुधारका लागि सरकार गम्भीर रहेको बताएका थिए । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलका अनुसार, प्रम शाहले नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरहरूलाई बोलाएर थप छलफल गरी जायज मागहरूलाई तत्काल कार्यान्वयनमा लैजाने आवश्वासन दिएका छन् । पौडेलका अनुसार, भेटका क्रममा प्रम शाहले पुँजी परिचालन गर्ने प्रमुख क्षेत्र पुँजीबजार भएको र यसमार्फत् रोजगारी पनि सिर्जना हुनुपर्छ भन्नेतर्फ सरकार केन्द्रित रहेको धारणा राखेका थिए ।

1

Scroll to Top