Banijya News

समस्याग्रस्त सहकारी व्यवस्थापनः ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने

1
1.1K Shares

समस्याग्रस्त सहकारीबाट लिएको ऋण नतिर्ने ऋणीमाथि सरकारले कडाइ गर्ने भएको छ । ऋणी सम्पर्कमा नआए वा नियमानुसार ऋण नतिरे ऋणी र जमानीकर्ताको समेत बैंक खाता रोक्का गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आफ्‌नो क्षेत्राधिकारभित्र रहेका सहकारीका ऋणी तथा बचतकर्ताहरूका लागि नयाँ कार्यविधि र निर्देशनहरू जारी गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जारी गरेको १२ बुँदे सार्वजनिक सूचनामा ऋण चुक्ता नभएसम्म ऋणी र जमानीकर्ताको बैंक खाता रोक्का रहने उल्लेख छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीबाट लिएको ऋणको ब्याज वा हर्जाना मिनाहा गर्ने अधिकार समितिलाई नभएकाले यस्तो ब्याज तथा हर्जाना छुट माग गर्दै परेका निवेदनमाथि कुनै कारबाही नहुने बताइएको छ ।

ऋणको ब्याज गणना गर्दा २०७६ साउन १ गतेदेखि ऋणमा १४ प्रतिशतका दरले ब्याज लाग्नेछ भने सोभन्दा अघिको हकमा तमसुकमा उल्लेख भएबमोजिमको दर कायम हुनेछ । साथै, हर्जानाको हकमा बाँकी ब्याज रकमको ५ प्रतिशत थप शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

ऋण र बचत मिलानको व्यवस्था

ऋण र बचत मिलान गर्दा पाँच लाख रुपैयाँसम्मको बचत पूरै मिलान गर्न सकिनेछ । पाँच लाखभन्दा बढी बचत भएको अवस्थामा बचतको ५० प्रतिशतसम्म तर अधिकतम ५० लाख रुपैयाँ नबढ्ने गरी ऋणसँग मिलान गर्न पाइनेछ ।

यस प्रक्रियामा ऋणीले तिर्नुपर्ने कुल रकमको कम्तीमा २० प्रतिशत बैंकमा अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ । बाँकी ८० प्रतिशत रकम मात्र बचतसँग मिलान गर्न सकिने समितिले जनाएको छ ।

यसैगरी, एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत भएका बचतकर्ताले तोकिएको स्वघोषणा फाराम भरेर बुझाउनुपर्नेछ । उक्त फारामको अध्ययन र छानबिनपछि मात्र बचत फिर्तासम्बन्धी प्रक्रिया अघि बढाइनेछ ।

ज्येष्ठ नागरिक, एकल महिला तथा प्राणघातक रोग लागेका कानुनबमोजिम प्राथमिकतामा पर्ने बचतकर्ताले आवश्यक प्रमाणसहित निवेदन दिएमा वर्षमा एकपटक तोकिएको रकम फिर्ता लिन सक्ने समितिले जनाएको छ ।

ऋण नतिर्ने वा सम्पर्कमा नआउने ऋणीहरूको सम्पूर्ण दायित्व जमानीकर्तामा सर्ने समितिले जनाएको छ । ऋण पूर्ण रूपमा असुल नभएसम्म ऋणी र जमानीकर्ता दुवैको बैंक खाताहरू रोक्का रहनेछन् । त्यस्ता ऋणीका तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गरी प्रचलित कानुन बमोजिम थप कारबाही गरिने चेतावनी सूचनामा दिइएको छ ।

घरजग्गाबाट ऋण राफसाफ गर्न सकिने

समितिले हालसम्म अचल सम्पत्ति (घरजग्गा) बाट बचत मिलान गर्ने कार्य सुरु नगरेको भए तापनि, ऋणी र बचतकर्ता आपसमा मिली नगद वा अचल सम्पत्ति लेनदेन गरी मेलमिलाप गर्न चाहेमा कार्यविधिको दफा ५ (११) बमोजिम निवेदन दिन सक्ने बताइएको छ ।

1

Scroll to Top