पछिल्लो समय बैंकहरु कार्यालय सञ्चालन खर्च घटाउने लक्ष्यका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले शाखा गाभ्न वा समायोजन गर्ने सहज नीति ल्याएसँगै बैंकहरु शाखा संख्या घटाएर खर्च घटाउनतिर लागि परेको देखिन्छ । यद्यपि, गत ११ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा ३३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२।८३ को जेठ मसान्तसम्ममा कार्यालय सञ्चालनमा ३३ अर्ब ४४ करोड ३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष ०८१।८२ को सोही अवधिको तुलनामा ०.५१ प्रतिशत बढी खर्च भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको ११ महिनासम्ममा बैंकहरुले ३३ अर्ब २७ करोड ११ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका थिए ।
बैंकहरुले आफ्नो दैनिक कामकाज सहज रूपमा चलाउनका लागि गर्ने नियमित खर्चहरू नै कार्यालय सञ्चालन खर्च हुन् । यसमा कार्यालय भाडा, बिजुली–पानी–इन्टरनेट जस्ता सेवा शुल्क, कम्प्युटर तथा प्रविधि प्रणालीको मर्मतसम्भार, सुरक्षा, सरसफाइ तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित खर्चहरू समेटिन्छन् ।
गत आवको ११ महिनामा सर्वाधिक कार्यालय सञ्चालन खर्च गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस अवधिमा २ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ कार्यालय सञ्चालनतर्फ खर्च गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.६२ प्रतिशतले कम हो ।
त्यस्तै, नबिल बैंकले ११ महिनामा २ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ६.८३ प्रतिशतले बढी हो ।
यसैगरी, समिक्षा अवधिमा कार्यालय सञ्चालन खर्चतर्फ क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.१६ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १७ लाख रहेको छ । लक्ष्मी सनराइज बैंकको ९.६० प्रतिशतले बढेर २ अर्ब ७ करोड ६० लाख पुगेको छ भने एनआईसी एशिया बैंकको १३.२० प्रतिशतले घटेर १ अर्ब ९८ करोड ७४ लाख रहेको छ । त्यस्तै, हिमालयन बैंकको ३.०१ प्रतिशतले बढेर १ अर्ब ९६ करोड र प्रभु बैंकको १२.१३ प्रतिशतले घटेर १ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ सञ्चालन खर्च पुगेको छ ।
गत आर्थिक वर्षको ११ महिनामा आरबिबिले १ अर्ब ६० करोड, एनएमबि बैंकले १ अर्ब ५१ करोड, कुमारी बैंकले १ अर्ब ४९ करोड, एभरेष्ट बैंकले १ अर्ब ४८ करोड, कृषि विकास बैंकले १ अर्ब ४४ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड, सानिमा बेंकले १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब २६ करोड खर्च गरेका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले १ अर्ब २१ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब १ करोड रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा प्राइम बैंक र स्टार्न्डड चार्टर्ड बैंकले कार्यालय सञ्चालनमा सबैभन्दा कम खर्च गरेका छन् । गत आवको ११ महिनामा यी दुई बैंकले क्रमशः १ अर्ब ३० लाख र ७७ करोड ९१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ ।


