Banijya News

सर्ट सेलिङ र मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा सर्ट सेलिङ, मार्जिन लेन्डिङ तथा सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरेको छ । सोसम्बन्धी अवधारणापत्र तयार भइसकेको र केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ ।

बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आर्थिक पत्रकारहरूसँगको छलफलमा उक्त व्यवस्थासम्बन्धी अवधारणापत्र तयार भइसकेको जानकारी दिँदै अन्तिम रूप दिएपछि केही दिनभित्रै सरोकारवालाको सुझावका लागि सार्वजनिक गरिने बताए । उनका अनुसार, यी व्यवस्था आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३ अन्तर्गत कार्यान्वयन गर्न लागिएको हो ।

सर्ट सेलिङ र मार्जिन लेन्डिङलाई विकसित पुँजी बजारका महत्वपूर्ण उपकरणका रूपमा लिइन्छ । सर्ट सेलिङ मार्फत लगानीकर्ताले आफूसँग नभएको धितोपत्र सापटी लिएर बिक्री गर्न सक्ने व्यवस्था हुन्छ । साथै, मार्जिन लेन्डिङ अन्तर्गत धितोपत्र धितो राखेर थप रकम सापटी लिई लगानी गर्न सकिन्छ ।

यस्तै, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ व्यवस्थाले धितोपत्र सापटी दिने र लिने कानुनी तथा संस्थागत आधार तयार गर्नेछ । अध्यक्ष भट्टले यी व्यवस्था लागू भएपछि नेपाली पुँजी बजार थप आधुनिक, प्रतिस्पर्धी र तरल बन्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार, अवधारणापत्र सार्वजनिक भएपछि प्राप्त सुझावका आधारमा आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया अघि बढाइनेछ । बोर्डले यससँगै नेप्से पुनर्संरचना, पुँजी बजारसम्बन्धी कानुन परिमार्जन तथा नयाँ वित्तीय उपकरणको विकासलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

1

Scroll to Top