Banijya News

लगानीको प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने अर्थमन्त्री वाग्लेको आश्वासन

1
1.0K Shares

नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको बताइएको छ । यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री डा. वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । यो मान्यतामा आफूहरु स्पष्ट रहेको बताउँदै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको बताए ।

अर्थमन्त्री वाग्लेले भने, ‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ ।’ बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए । नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्‌नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।

त्यस्तै, प्रवासमा रहेका नेपालीहरुको लागि नै सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारिएको उनको भनाइ छ । सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के–के सहजीकरण गर्नुपर्छ, स्पष्टसँग भन्न पनि उनीहरुलाई आग्रह गरे । साथै, देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

1

Scroll to Top