नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले व्यवसायबाट आर्जित मुनाफा र रोयल्टीबापत रकम बाहिर लैजाने गर्दछन् । यस्तो रकम गत आवमा दोब्बरले बढेको पाइएको छ ।
उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, विदेशी लगानीकर्ताहरूले गत आवमा मुनाफाबाट कुल १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार ११ रुपैयाँ लाभांशबापत फिर्ता लगेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा ९ अर्ब ६१ करोड ७० लाख २ हजार ९७९ रुपैयाँ मात्र यस्तो लाभांशवापतको रकम बाहिरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा लाभांश फिर्ता करिब ८५ प्रतिशतले बढी हो ।
विदेशी कम्पनीहरूले प्रविधि हस्तान्तरण र ट्रेडमार्क प्रयोग गरेबापत लैजाने रोयल्टी रकममा पनि ठूलो वृद्धि भएको छ । गत आवमा कुल ५ अर्ब ८९ करोड ३१ हजार ६५३ नेपाली रुपैयाँ रोयल्टीबापत बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो रकम जम्मा १ अर्ब ८४ करोड ३३ लाख ४३ हजार ४७० रुपैयाँ मात्र थियो । रोयल्टीबापत बाहिरिएको रकम नेपाली रुपैयाँका अतिरिक्त अन्य मुद्रामा पनि रहेको छ । जसअन्तर्गत १७ लाख ७५ हजार ५४१ अमेरिकी डलर र ५६ करोड ९७ लाख २१ हजार ८५६ भारुमा रोयल्टी बाहिरिएको छ ।
विभागको तथ्यांकअनुसार, वार्षिक रूपमा लाभांश र रोयल्टीबाहेक सेवा शुल्कबापत पनि १३ करोड ७२ लाख १३ हजार २४० रुपैयाँ बाहिरिएको छ । गत आवको असारमा मात्रै ३० करोड ५१ लाख ६९ हजार ५९८ रुपैयाँ रोयल्टीबापत फिर्ता लैजान स्वीकृति दिइएको विभागले जनाएको छ ।
आवको अन्तिम महिनामा लाभांशबापत ५ करोड १३ लाख २४ हजार ७८१ रुपैयाँ बाहिरिएको छ । साथै, सेवा शुल्कबापत २ करोड २१ लाख ७१ हजार २५६ रुपैयाँ फिर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, यस वर्ष नेपालमा कुल ५८ अर्ब १ करोड रुपैयाँको नयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, प्रतिबद्धता जनाएभन्दा कम मात्रै वैदेशिक लगानी भित्रिने प्रवृत्ति देखिन्छ । अर्थविद् डा. डिल्लीराज खनालका अनुसार, भित्रिने लगानी र बाहिरिने प्रतिफलबीचको सन्तुलन मिलाउनु नेपालका लागि चुनौती छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को तुलनामा यहाँबाट बाहिरिने लाभांशको मात्रा बढी हुनु चिन्ताको विषय बन्न पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनको तथ्यांकअनुसार, विगत २७ वर्षको इतिहासमा नेपालमा कुल ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ एफडीआई स्वीकृत भयो । तर, उक्त स्वीकृत रकममध्ये ३६.२ प्रतिशत अर्थात १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको लगानीमात्रै नेपाल भित्रिएको छ । हरेक वर्ष विदेशी मुलुकहरूले लगानी गर्ने प्रतिवद्धताअनुसार स्वीकृत गरे पनि नेपाल भित्रिने रकम भने साह्रै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसले गर्दा नेपालमा विदेशी लगानी कम भित्रनुमा नेपालकै केही कमजोरी भएको बताइन्छ । नेपालको अस्थिर राजनीति र नीतिमा स्थिरता नहुँदा पनि वैदेशिक लगानी आकर्षित हुन नसकेको अर्थविद्हरूले औँल्याउँदै आएका छन् । तर, स्थिर सरकार बनेपछि पनि अपेक्षाअनुसार लगानी भित्रिन चुनौती देखिएको व्यवसायीहरूको भनाइ छ ।
त्यसैले, नेपालबाट वैदेशिक लगानीको मुनाफा बाहिरिने क्रम बढेपछि अर्थशास्त्री डा. डिल्लीराज खनालले सरकारलाई विदेशी लगानीकर्ताहरूलाई नेपालमै पुनर्लगानी गर्न प्रोत्साहित गर्ने नीति ल्याउन सुझाव दिन्छन् । नेपालमा लगानीको प्रतिबद्धताअनुसार वास्तविक लगानी नआउनुमा नीतिगत अस्थिरता र प्रशासनिक भद्रगोललाई उनी मुख्य कारण मान्छन् ।
त्यस्तै, वैदेशिक लगानीको प्रतिबद्धता भएपछि त्यसलाई वास्तविक लगानीमा बदल्न पनि निरन्तर अनुगमन र समन्वय गर्नुपर्ने हुन्छ । साथै, सोको सफल कार्यान्वयन र नतिजामुखी अनुगमन भए मात्र नेपालमा वैदेशिक लगानीको वातावरण सुध्रने देखिन्छ ।


