नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १० देखि १५ वर्षको समग्र मास्टर प्लान आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै पाण्डेले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थललगायत कनेक्टिभिटी पूर्वाधारको दीर्घकालीन योजना स्पष्ट हुनुपर्ने बताए ।
पूर्वाधार विकास सडक निर्माणमा मात्र केन्द्रित नभई ऊर्जा, यातायात, लजिस्टिक्स, शहरी विकास, खानेपानी, सरसफाइ र डिजिटल पूर्वाधारलाई एकीकृत प्रणालीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । पूर्वाधारलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाले एउटै दीर्घकालीन योजनाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपाललाई हालको करिब ४४ अर्ब अमेरिकी डलरको अर्थतन्त्रबाट सन् २०३९ सम्ममा १०० अर्ब डलर पुर्याउन वार्षिक ६ प्रतिशत वास्तविक आर्थिक वृद्धि आवश्यक रहेको बताए । त्यसका लागि उपभोगमा आधारित अर्थतन्त्रलाई क्रमशः लगानी, उत्पादन र निर्यातमुखी बनाउनुपर्ने उनले बताए । पूर्वाधारमा सुधार आए उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र निजी क्षेत्रको लगानी बढाउन सकिने उनको भनाइ थियो ।
ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि मात्र पर्याप्त नभएको भन्दै पाण्डेले ऊर्जा सुरक्षा र बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने बताए । प्रसारण, भण्डारण र वितरण प्रणाली सुदृढ गर्नुका साथै विद्युत् बजार विस्तार गरी ऊर्जा–सघन उद्योग नेपालमा आकर्षित गर्नुपर्ने उनले बताए । विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने र आन्तरिक खपत विस्तार गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।
यातायात पूर्वाधारलाई आर्थिक करिडोरको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पनि उनले जोड दिए । आयोजना छनोट र बजेट विनियोजनसँगै आयोजना तयारी, कार्यान्वयन तथा समयमै निर्माण सम्पन्न गर्ने प्रणालीमा सुधार आवश्यक रहेको उनले बताए । सार्वजनिक खरिदसम्बन्धी कानुनमा भएका सुधार सकारात्मक भए पनि ठूला आयोजनाका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए ।
शहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) को सम्भावना उपयोग गर्नुपर्ने पाण्डेको भनाइ थियो । पूर्वाधार आयोजना कार्यान्वयनमा भूमि प्राप्ति, वनसम्बन्धी प्रक्रिया र अन्य आवश्यक स्वीकृति तथा क्लियरेन्सलाई सहज बनाउनुपर्ने उनले बताए ।
‘पूर्वाधार क्षेत्रलाई ग्रोथ इन्जिन बनाउने हो भने सडक मात्रै होइन, पूरै इकोसिस्टमलाई एकीकृत प्रणालीका रूपमा विकास गर्नुपर्छ,’ पाण्डेले भने । उनका अनुसार देशको रोड नेटवर्क, ट्रान्समिसन लाइन, रेलवे, विमानस्थल र अन्य कनेक्टिभिटी पूर्वाधार आगामी १०–१५ वर्षमा कहाँ र कसरी विस्तार गर्ने भन्ने स्पष्ट मास्टर प्लान आवश्यक छ ।


