Banijya News

निक्षेप थुप्रिए पनि कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चाप

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनले नयाँ उचाइ कायम गरे पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको असार मसान्त २०८३ सम्मको तथ्यांकले निक्षेप र कर्जा विस्तारबीच ठूलो असन्तुलन देखाएको हो ।

तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप करिब ८३ खर्ब रुपैयाँ पुगेको छ । तर कुल कर्जा तथा अग्रिमको आकार भने ५९ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित छ । निक्षेपको तुलनामा कर्जा प्रवाह कमजोर भएपछि बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नियामकीय सीमाभन्दा निकै तल झरेको छ ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । तर असार मसान्त २०८३ सम्म समग्र बैंकिङ प्रणालीको औसत सीडी रेसियो ७१.०६ प्रतिशतमा सीमित भएको छ । वाणिज्य बैंकहरूको सीडी रेसियो अझ कम अर्थात् ६९.८९ प्रतिशतमा झरेको छ । विकास बैंकको ८३.१४ प्रतिशत र फाइनान्स कम्पनीको ७६.६९ प्रतिशत रहेको छ ।

यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग कमजोर रहेको देखाउँछ । बैंकहरूसँग रहेको कुल निक्षेपको ३८ प्रतिशतभन्दा बढी हिस्सा नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा अन्य तरल सम्पत्तिका रूपमा रहेको तथ्यांकले देखाएको छ ।

ब्याजदर एकल अंकमा झरेर कर्जा लिन तुलनात्मक रूपमा सहज अवस्था बने पनि निजी क्षेत्रबाट नयाँ कर्जाको माग बढ्न सकेको छैन । आन्तरिक मागमा आएको कमी, व्यवसायिक मनोबलमा देखिएको शिथिलता र नयाँ लगानीप्रतिको कमजोर उत्साहले कर्जा विस्तार प्रभावित भएको देखिन्छ ।

क्षेत्रगत रूपमा हेर्दा बैंकहरूको कर्जाको ठूलो हिस्सा अझै घरजग्गा तथा अचल सम्पत्तिको धितोमा केन्द्रित छ । कुल ५२ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी कर्जा अचल सम्पत्ति तथा घरजग्गालाई सुरक्षण राखेर प्रवाह भएको छ । कृषि तथा वन क्षेत्रमा ३ खर्ब ४९ अर्ब रुपैयाँ र ऊर्जा तथा जलविद्युत् क्षेत्रमा ५ खर्ब १३ अर्ब रुपैयाँ कर्जा पुगेको छ ।

त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब २० अर्ब रुपैयाँभन्दा बढी तथा उपभोग्य कर्जामा १३ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी प्रवाह भएको छ । यसले बैंकिङ पुँजीको ठूलो हिस्सा दैनिक उपभोग, व्यापार तथा परम्परागत क्षेत्रमा केन्द्रित रहेको देखाउँछ ।

औद्योगिक उत्पादन, ठूला पूर्वाधार, नयाँ व्यवसाय र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा कर्जाको माग अपेक्षाकृत कमजोर छ । परिणामतः बैंकहरूमा निक्षेप बढ्दै गए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवस्था बन्न सकेको छैन ।

निक्षेप संकलन र कर्जा विस्तारबीच बढ्दो अन्तरले बैंकिङ प्रणालीको आकार विस्तार भए पनि त्यसको प्रभाव वास्तविक अर्थतन्त्रमा अपेक्षित रूपमा पुग्न नसकेको संकेत गरेको छ । पर्याप्त तरलता, घट्दो ब्याजदर र कर्जा प्रवाह गर्ने क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट माग सिर्जना हुन नसक्नु अर्थतन्त्रको मुख्य चुनौतीका रूपमा देखिएको छ ।

1

Scroll to Top