सरकारले रासायनिक मल डीएपीको बिक्री तथा वितरण तत्कालका लागि स्थगित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्ति शृंखला प्रभावित हुनुका साथै आगामी गहुँ सिजनमा डीएपीको अभाव हुनसक्ने जोखिम बढेपछि मौज्दात मल जोगाएर राख्ने नीति सरकारले लिएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले भदौ १६ गते कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्र पठाउँदै डीएपी मलको बिक्री तथा वितरण रोक्न निर्देशन दिएको हो । भदौ १५ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले यस्तो कदम चालेको जनाएको छ ।
मन्त्रालयका अनुसार, मध्यपूर्वमा बढेको तनाव, होर्मुज नाकाबाट हुने आपूर्तिमा देखिएको अवरोध तथा समुद्री ढुवानी प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारबाट डीएपी मलको आपूर्ति अनिश्चित बनेको छ । खरिद सम्झौता भइसकेको मलसमेत तोकिएको समयमा नेपाल आइपुग्ने अवस्था कमजोर देखिएपछि अहिले उपलब्ध मललाई आगामी गहुँ बालीका लागि सुरक्षित राख्ने निर्णय गरिएको हो ।
सरकारले निर्णय कार्यान्वयन गर्न ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा ६ मा रहेको व्यवस्थासमेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । मन्त्रालयले हालको अवस्था ‘फोर्स मेजर’ प्रकृतिको रहेको भन्दै नियमित वितरण प्रणाली अस्थायी रूपमा रोक्नुपरेको जनाएको छ ।
कृषि सामग्री कम्पनीका अनुसार हाल देशभरका गोदाममा १४ हजार ६४५ टन डीएपी मौज्दात रहेको छ । थप करिब १८ हजार टन डीएपी खरिद प्रक्रियामा रहे पनि अन्तर्राष्ट्रिय आपूर्ति र ढुवानीमा देखिएको समस्याका कारण उक्त मल समयमै नेपाल आइपुग्ने निश्चितता कमजोर रहेको कम्पनीले जनाएको छ ।
युरियाको अवस्था भने तुलनात्मक रूपमा सहज रहेको छ । कम्पनीका अनुसार हाल २२ हजार ९१० टन युरिया मौज्दात छ । थप करिब ३३ हजार टन युरिया भारतलगायत मुलुकबाट आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
अहिले धान बालीमा ‘टप ड्रेसिङ’का लागि युरियाको माग उच्च रहेकाले सोहीअनुसार आपूर्ति भइरहेको कम्पनीको भनाइ छ । तराई–मधेससहित धान उत्पादन हुने प्रमुख क्षेत्रमा युरियाको माग बढेको भए पनि तत्कालका लागि आपूर्ति व्यवस्थापन भइरहेको जनाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार भदौ र असोजमा धान बालीका लागि डीएपीको प्रयोग तुलनात्मक रूपमा कम हुने भएकाले उपलब्ध डीएपीलाई गहुँ सिजनका लागि सुरक्षित राख्ने निर्णय गरिएको हो ।
उनका अनुसार, अहिले डीएपी खुला रूपमा बिक्री गर्दा सहकारी वा अन्य माध्यमबाट अनावश्यक रूपमा मल थुपार्ने र एग्रोभेटमार्फत स्टक राख्ने जोखिम हुन्छ । अहिलेको मौज्दात अनियन्त्रित रूपमा वितरण भए गहुँ रोपाइँ सुरु हुने समयमा वास्तविक किसानले आवश्यक मात्रामा डीएपी नपाउने अवस्था आउन सक्ने सरकारको चिन्ता छ ।
अन्तर्राष्ट्रिय बजारमा डीएपीको मूल्यसमेत बढेको छ । पोखरेलका अनुसार डीएपीको मूल्य प्रतिटन एक हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । युरियाको मूल्य भने प्रतिटन करिब ५३० देखि ५५० अमेरिकी डलरको हाराहारीमा रहेको छ ।
डीएपी उत्पादनमा आवश्यक कच्चा पदार्थको आपूर्तिमा आएको समस्याले पनि अन्तर्राष्ट्रिय बजारमा दबाब बढाएको बताइएको छ । प्राकृतिक ग्यासबाट प्राप्त हुने सल्फरको उत्पादनमा कमी आउँदा डीएपी उत्पादन क्षमतामाथि समेत दबाब परेको पोखरेलले बताएका छन्।
सरकारको निर्णयसँगै तत्काल डीएपी आवश्यक पर्ने किसानले बिक्री केन्द्रबाट मल पाउन कठिन हुने अवस्था सिर्जना भएको छ । यद्यपि सरकारले हालको मागभन्दा आगामी गहुँ सिजनमा हुनसक्ने ठूलो अभावलाई प्राथमिकतामा राखेर मौज्दात सुरक्षित गर्नुपर्ने अवस्था आएको बताएको छ ।
अब अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली कति छिटो सहज हुन्छ, खरिद सम्झौता भइसकेको डीएपी कहिले नेपाल आइपुग्छ र सरकारले बिक्री तथा वितरणमा लगाएको रोक कहिले हटाउँछ भन्ने विषय महत्वपूर्ण बनेको छ । अन्तर्राष्ट्रिय आपूर्ति थप प्रभावित भए अहिले जोगाएर राखिएको डीएपी नै आगामी गहुँ सिजनमा किसानका लागि प्रमुख आधार बन्न सक्ने देखिएको छ ।


