नेपालको पुँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन तीन लगानीकर्ता संगठनले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष ६ बुँदे नीतिगत सुधारको प्रस्ताव पेस गरेका छन् ।
नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रूपमा बोर्डलाई पत्र बुझाउँदै कारोबार, आईपीओ, सेयर लागत मूल्य, राफसाफ तथा मार्जिन कारोबारलगायत विषयमा सुधारको माग गरेका हुन् ।
संगठनहरूले दोस्रो बजारमा कानुनसम्मत रूपमा खरिद गरिएको सेयर बिक्री गर्नुअघि १५ दिनको पूर्वसूचना दिनुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार खरिद गर्दा पूर्वसूचना आवश्यक नहुने तर बिक्री गर्दा मात्रै यस्तो व्यवस्था लागू गरिनु समान व्यवहारको सिद्धान्तअनुकूल छैन । यसले लगानीकर्ताको स्वतन्त्र कारोबार अधिकारसँगै बजारको माग, आपूर्ति र तरलतामा समेत असर पारिरहेको उनीहरूको दाबी छ ।
हालको व्यवस्थालाई पुनरावलोकन गर्दै सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारबाट खरिद गरेको सेयर स्वतन्त्र रूपमा बिक्री गर्न पाउने व्यवस्था गर्न संगठनहरूले माग गरेका छन् । यद्यपि, संस्थापक तथा रणनीतिक लगानीकर्ताले ठूलो परिमाणमा सेयर बिक्री गर्दा बजारमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै ५ प्रतिशतभन्दा बढी सेयर बिक्रीमा पूर्वसूचना राख्न सकिने उनीहरूको सुझाव छ ।
संस्थापक सेयरधनीका लागि हाल कायम १५ दिने पूर्वसूचना अवधि घटाएर सात दिन कायम गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । त्यस्तै, ठूलो परिमाणमा हुने सेयर बिक्रीलाई नियमित कारोबार प्रणालीभन्दा अलग गरी ‘अफर फर सेल’ वा ब्लक कारोबार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने संगठनहरूको माग छ ।
आईपीओमा कम्तीमा ३० प्रतिशत हिस्सा
लगानीकर्ता संगठनहरूले कम्पनीको प्रकृति, पुँजी, व्यवसायको आकार तथा जोखिमको अध्ययन गरी आईपीओमा सार्वजनिक हिस्साको न्यूनतम सीमा कम्तीमा ३० प्रतिशत कायम गर्नुपर्ने नीति अवलम्बन गर्न सुझाव दिएका छन् ।
कम्पनी सञ्चालनका लागि आवश्यक मुख्य संस्थापक तथा रणनीतिक लगानीकर्ताको हिस्सा संरक्षण गर्दै अन्य संस्थापक सेयरलाई क्रमशः सार्वजनिक कारोबारमा ल्याउने व्यवस्था गर्नुपर्ने उनीहरूको प्रस्ताव छ । उपयुक्त कम्पनीका हकमा आवश्यक अध्ययन गरी ५० प्रतिशतसम्म सेयर सार्वजनिक कारोबारयोग्य बनाउने सम्भाव्यता अध्ययन गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
संगठनहरूका अनुसार सार्वजनिक कारोबारमा आउने सेयरको हिस्सा बढाउँदा दोस्रो बजारमा आपूर्ति वृद्धि हुनेछ । यसबाट संस्थापक र सर्वसाधारण सेयरबीचको असन्तुलन घट्नुका साथै वास्तविक माग र आपूर्तिका आधारमा सेयरको मूल्य निर्धारण हुने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, सार्वजनिक निष्कासनमा संस्थागत लगानीकर्ता, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्टाछुट्टै हिस्सा निर्धारण गरी पारदर्शी वितरण प्रणाली विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
सेयर राफसाफ टी प्लस वानमा लैजान सुझाव
तीन संगठनले हालको टी प्लस टु तथा टी प्लस थ्री कारोबार राफसाफ प्रणालीलाई क्रमशः छोट्याएर टी प्लस वान वा त्यसभन्दा छिटो प्रणालीमा लैजान सम्भाव्यता अध्ययन गर्नुपर्ने माग गरेका छन् ।
सेयर खरिद गरेपछि लगानीकर्ताको खातामा सेयर आउन लाग्ने समयका कारण बजारमा तीव्र गिरावट आएमा लगानीकर्ताले थप मूल्य जोखिम व्यहोर्नुपर्ने उनीहरूको भनाइ छ । त्यसैले नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी तथा बैंकिङ प्रणालीबीच प्रत्यक्ष र स्वचालित समन्वय बढाउनुपर्ने प्रस्ताव गरिएको छ ।
छिटो, सुरक्षित र प्रभावकारी राफसाफ प्रणाली विकास गर्न सके बजारको कारोबार क्षमता र तरलता बढ्नुका साथै लगानीकर्ताको विश्वाससमेत बलियो हुने संगठनहरूको अपेक्षा छ ।
बोनस र हकप्रदको लागत मूल्यमा एकरूपता
बोनस तथा हकप्रद सेयरको मूल्य समायोजनमा नेप्से र सीडीएससीबीच एकरूपता कायम गर्नुपर्ने माग पनि संयुक्त पत्रमा गरिएको छ । बुक क्लोजपछि नेप्सेले निर्धारण गर्ने समायोजित मूल्य र सीडीएससीले अभिलेखमा राख्ने लागत मूल्यबीच असमानता हुँदा लगानीकर्ताले वास्तविक नाफा नभए पनि पुँजीगत लाभकरसम्बन्धी समस्या भोग्नुपरेको संगठनहरूको भनाइ छ ।
यसको समाधानका लागि नेप्सेले निर्धारण गरेको समायोजित आधार मूल्यलाई सीडीएससीको अभिलेख प्रणालीसँग एकीकृत गर्नुपर्ने प्रस्ताव गरिएको छ । वास्तविक पुँजीगत लाभ भएको अवस्थामा मात्रै प्रचलित कानुनअनुसार कर गणना हुने व्यवस्था मिलाउन तथा बोनस र हकप्रद सेयरको लागत मूल्य निर्धारणका लागि स्पष्ट र वैज्ञानिक विधि लागू गर्न पनि उनीहरूले माग गरेका छन् ।
मार्जिन कारोबारमा समान मापदण्ड
लगानीकर्ता संगठनहरूले धितोपत्र दलाल व्यवसायीहरूबीच मार्जिन कारोबारको ब्याजदर तथा जोखिम व्यवस्थापनमा फरक अभ्यास रहेको भन्दै समान न्यूनतम मापदण्ड लागू गर्नुपर्ने बताएका छन् ।
सेयरको तरलता, मूल्य उतारचढाव र जोखिमको आधारमा फरक मार्जिन दर निर्धारण गर्नुपर्ने उनीहरूको सुझाव छ । अत्यधिक जोखिमयुक्त सेयरमा उच्च ऋण अनुपात नियन्त्रण गर्नुपर्ने तथा बजारमा असामान्य उतारचढाव देखिँदा अतिरिक्त जोखिम व्यवस्थापनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । मार्जिन कारोबारबाट हुन सक्ने सम्भावित नाफा तथा नोक्सानीबारे लगानीकर्तालाई अग्रिम रूपमा स्पष्ट जानकारी गराउनुपर्ने पनि संगठनहरूको प्रस्ताव छ ।
यसैगरी, तीन संगठनले पुँजीबजारका समस्या अलग–अलग विषय नभई बजारको संरचना, लगानीकर्ताको विश्वास र समग्र वित्तीय स्थायित्वसँग जोडिएको बताएका छन् । त्यसैले, सेबोनले नेप्से, सीडीएससी, नेपाल राष्ट्र बैंक, धितोपत्र दलाल व्यवसायी, सूचीकृत कम्पनी तथा लगानीकर्ता प्रतिनिधिसँग छलफल गरी समग्र नियामकीय सुधार अघि बढाउनुपर्ने उनीहरूको माग छ ।
नियमनको उद्देश्य कारोबारमा अनावश्यक अवरोध सिर्जना गर्नु नभई पारदर्शिता, निष्पक्षता, जोखिम नियन्त्रण र लगानीकर्ता संरक्षण सुनिश्चित गर्नु हुनुपर्ने पत्रमा उल्लेख छ ।
पुँजीबजारलाई सेयर खरिदबिक्रीको माध्यममा मात्रै सीमित नराखी राष्ट्रिय पुँजी निर्माण, उद्योग विस्तार, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा पनि संगठनहरूले जोड दिएका छन्।
२०८३ असोज २२ गते बुझाइएको संयुक्त पत्रमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईं र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलको नाम उल्लेख गरिएको छ ।


