Banijya News

चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको निर्यात बढाउने शर्माको योजना

1
1.0K Shares

चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै चीनबाट अधिकतम आर्थिक लाभ लिन पहल गर्ने बताएका छन् । उनले आर्थिक तथा विकास कूटनीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनको निर्यात वृद्धि, वैदेशिक लगानी आकर्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाएका हुन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् । नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई महत्त्व दिएको उल्लेख गर्दै उनले दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताए ।

शर्माले नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’प्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने नेपालको नीतिलाई निरन्तरता दिने स्पष्ट पारे ।

नेपाल र चीनबीचको व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गराउने योजना उनले अघि सारे । त्यसका लागि गुणस्तर मापन प्रणाली (मल्टिफङ्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यात प्रवर्द्धन गर्ने उनले बताए ।

नेपाली उत्पादनको निर्यातबाट अर्थतन्त्रमा योगदान बढाउन सकिने उदाहरण दिँदै शर्माले थाइल्यान्डले चीनमा वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको डुरियन फल निर्यात गर्ने गरेको उल्लेख गरे । नेपालले पनि आफ्ना मौलिक उत्पादनको गुणस्तर सुधार र बजार विस्तारमार्फत निर्यात बढाउन सक्ने उनको भनाइ थियो ।

चीनबाट नेपालमा हालसम्म करिब ५०० परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन दूतावासले सहजीकरण गर्ने बताए। लगानीकर्तालाई नेपालका सम्भावना र अवसरबारे जानकारी गराउँदै द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने उनको योजना छ ।

पर्यटन प्रवर्द्धनका लागि बेइजिङ र काठमाडौंबीच सीधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्ने पनि शर्माले बताए । उनका अनुसार, नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र छ । पर्यटकको खर्च बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन तथा प्याकेज विकास गर्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी, हङकङ, ल्हासा, छेन्दु र ग्वाङझौस्थित नेपाली नियोगहरूबीच साझा कार्ययोजना बनाएर लगानी तथा पर्यटन प्रवर्द्धन गर्ने उनले बताए। नियोगहरूबीच समन्वय बढाउँदै चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र नेपालमा चिनियाँ पर्यटक तथा लगानीकर्ता आकर्षित गर्नु आफ्नो कार्ययोजनाको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो ।

1

Scroll to Top