संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि, लगानी विस्तार र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अमेरिकामा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणलाई समेत आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो प्रस्तावित कार्यकालको कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्य हासिल गर्न आर्थिक कूटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको करिब ८० वर्ष लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका नयाँ अवसर पहिचान गर्ने योजना प्रस्तुत गरेका छन् ।
थापाले नेपाल र अमेरिकाबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा नेपालमा अमेरिकी लगानी भित्र्याउन सक्रिय पहल गर्ने बताएका छन् । आर्थिक कूटनीतिमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउने र दुई देशबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउने उनको योजना छ ।
आफ्नो कूटनीतिक यात्राको स्मरण गर्दै थापाले करिब २५ वर्षअघि अमेरिकास्थित नेपाली दूतावासमा इन्टर्नका रूपमा काम गर्दा देखेको सपना अहिले पूरा हुने चरणमा पुगेको बताए । लामो समयको कूटनीतिक अनुभवलाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा उपयोग गर्ने उनको प्रतिबद्धता छ ।
कार्ययोजनामा थापाले अमेरिकामा रहेका नेपाली नागरिकको सुरक्षा, अधिकार र हित संरक्षणलाई विशेष प्राथमिकता दिएका छन् । विदेशमा रहेका नेपालीले भोग्नुपर्ने समस्या समाधान गर्न दूतावासको सेवा प्रभावकारी बनाउने तथा आवश्यक सहयोग र समन्वयलाई थप व्यवस्थित गर्ने उनको योजना छ । राहदानी सेवाको प्रभावकारिता बढाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
त्यसैगरी, नेपालको सुरक्षा क्षेत्रको क्षमता अभिवृद्धिका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग सम्बन्धित सहकार्यलाई अघि बढाउने योजना उनले प्रस्तुत गरेका छन् । सुरक्षा निकायहरूको संस्थागत क्षमता विकास, अनुभव आदानप्रदान र आवश्यक सहयोग विस्तारमा अमेरिकासँग सहकार्य गर्ने उनको उद्देश्य छ ।
थापाले नेपाललाई ‘इन्सार्याग’ को सदस्यता दिलाउने विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन् । संयुक्त राष्ट्रसंघको मानवीय खोज तथा उद्धारसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालमा आबद्धताले नेपालको विपद् प्रतिकार्य क्षमता र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत कूटनीतिक सम्पर्कमा मात्र सीमित नराखी व्यापार, लगानी, सुरक्षा सहकार्य र नागरिकको हित संरक्षणसँग जोड्ने थापाको योजना छ । प्रस्तावित राजदूतका रूपमा उनले अघि सारेका प्राथमिकताले कार्यान्वयनको चरणमा कस्तो परिणाम दिन्छन् भन्ने विषय भने उनको नियुक्ति र त्यसपछिको कूटनीतिक सक्रियतामा निर्भर रहनेछ ।

