ठूला पूर्वाधार, ऊर्जा तथा औद्योगिक आयोजनामा लगानी जुटाउन सहज बनाउने र व्यवसायको व्यापारिक प्राप्य रकमका आधारमा कर्जा प्रवाहलाई कानुनी मान्यता दिने उद्देश्यले सरकारले सुरक्षित कारोबार ऐन, २०६३ संशोधन गर्ने प्रस्ताव गरेको छ । अध्यादेशको प्रारम्भिक मस्यौदामार्फत ऐनमा व्यापक संशोधन प्रस्ताव गरिएको हो ।
प्रस्तावित व्यवस्थाले भविष्यमा प्राप्त हुने आम्दानी, नगद प्रवाह, करारगत अधिकार तथा व्यापारिक प्राप्य रकमलाई समेत धितोका रूपमा प्रयोग गरी ऋण लिन सकिने कानुनी बाटो खोल्नेछ । अध्यादेशको प्रारम्भिक मस्यौदाको दफा ४६ मार्फत प्रस्ताव गरिएको संशोधनले विद्यमान ऐनको दायरा विस्तार गरेको छ ।
यसबाट विशेषगरी लामो समय लाग्ने र ठूलो पुँजी आवश्यक पर्ने पूर्वाधार तथा ऊर्जा आयोजनाको वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, उद्योग तथा व्यापारिक प्रतिष्ठानले बिक्री गरेको वस्तु वा सेवाबापत भविष्यमा प्राप्त गर्नुपर्ने रकमका आधारमा समेत वित्तपोषण लिन सक्नेछन् ।
२०६३ कात्तिक ३० गते प्रमाणीकरण भएको सुरक्षित कारोबार ऐनले चल तथा अमूर्त सम्पत्तिमा धितोको हक सिर्जना, दर्ता, प्राथमिकता निर्धारण र कार्यान्वयनसम्बन्धी व्यवस्था गरेको छ । यसअन्तर्गत मालसामान, उपकरण, बहीखाता, अधिकारपत्र, सवारीसाधन, कृषि उपज तथा जडित सामानलगायतका सम्पत्तिलाई धितो राख्न सकिने व्यवस्था छ । तर, ठूला आयोजनाको भविष्यमा प्राप्त हुने आम्दानी, विद्युत् खरिदबिक्री सम्झौताबाट प्राप्त हुने रकम तथा व्यापारिक प्राप्य रकमका आधारमा वित्तपोषण गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था थिएन । यही अभावका कारण बैंक तथा वित्तीय संस्था र आयोजना प्रवर्धकहरूले वित्तीय व्यवस्थापनमा व्यावहारिक जटिलता भोग्दै आएका थिए ।
प्रस्तावित संशोधनले मूल ऐनको दफा २ को खण्ड (त) मा रहेको ‘धितोको सम्पत्ति’ को परिभाषा विस्तार गरेको छ । अब प्रचलित कानुनबमोजिम हस्तान्तरण गर्न वा धितोको हक सिर्जना गर्न सकिने आयोजनासम्बन्धी करारगत अधिकार, आयोजनाबाट प्राप्त हुने वा भविष्यमा प्राप्त हुन सक्ने रकम, सेवा शुल्क, महसुल, बिक्रीबाट आउने रकम, बिमा तथा क्षतिपूर्ति दाबी र अन्य अमूर्त चल सम्पत्तिलाई समेत धितोको सम्पत्तिका रूपमा समेट्ने प्रस्ताव गरिएको छ ।
यद्यपि, अचल सम्पत्ति, आयोजना भूमिको लिज अधिकार तथा कानुनले हस्तान्तरण गर्न प्रतिबन्ध लगाएका अनुमतिपत्रसम्बन्धी अधिकारमा धितो सिर्जना र कार्यान्वयन गर्दा सम्बन्धित विशेष कानुन नै लागू हुनेछ । सार्वजनिक निकायबाट प्राप्त अनुमतिपत्र, स्वीकृति वा नियामकीय अधिकार स्वतः धितोको सम्पत्ति नबन्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ ।
आयोजनाको भविष्यको आम्दानीबाट ऋण लिन सकिने
मूल ऐनको दफा २० पछि थप गर्न प्रस्ताव गरिएको दफा २०क ले पूर्वाधार, ऊर्जा, औद्योगिक तथा अन्य स्वीकृत विकास आयोजनाको वित्तपोषणका लागि नयाँ व्यवस्था गरेको छ । यसअनुसार आयोजना सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आयोजनाबाट प्राप्त हुने वा भविष्यमा प्राप्त हुन सक्ने आम्दानी तथा नगद प्रवाहलाई धितो राख्न सक्नेछन् ।
त्यस्तै, विद्युत् खरिदबिक्री, सेवा खरिद, उत्पादन बिक्री वा आपूर्ति सम्झौताअन्तर्गत प्राप्त गर्नुपर्ने रकम, बिमा दाबी, क्षतिपूर्ति अधिकार, आयोजनासम्बन्धी बैंक खातामा रहेको रकम, चल उपकरण तथा मेसिनरी र हस्तान्तरण गर्न मिल्ने अन्य करारगत तथा अमूर्त चल सम्पत्तिमा ऋणदाता वा सुरक्षा प्रतिनिधिका पक्षमा धितोको हक सिर्जना गर्न सकिनेछ ।
भविष्यमा प्राप्त हुने रकम धितो राख्दा सम्झौतामा त्यसको प्रकृति, स्रोत र पहिचान खुल्ने विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ । यसले आयोजनाको भौतिक सम्पत्तिमा मात्र निर्भर नभई भविष्यमा सिर्जना हुने आम्दानीलाई समेत वित्तपोषणको आधार बनाउन सक्नेछ ।
तर, यस्तो धितो सिर्जना हुँदैमा ऋणदाताले स्वतः आयोजना सञ्चालन गर्ने, अनुमतिपत्र प्रयोग गर्ने वा सार्वजनिक अधिकार उपयोग गर्ने अधिकार पाउने छैनन् । भुक्तानीकर्ताको मूल करारबमोजिमको दायित्व पनि परिवर्तन हुने छैन । साथै, सरकार, सार्वजनिक निकाय, उपभोक्ता, श्रमिक तथा तेस्रो पक्षको स्थापित अधिकारमा प्रतिकूल असर पार्न नपाइने व्यवस्था गरिएको छ ।
ऋणदातालाई आयोजना निरन्तरतामा भूमिका
मस्यौदाले दफा २०ख थप गर्दै आयोजना वित्तपोषण सुरक्षित गर्न प्रत्यक्ष सम्झौताको व्यवस्था प्रस्ताव गरेको छ । यसअनुसार धितो लिने व्यक्ति वा सुरक्षा प्रतिनिधि, आयोजना सञ्चालक र सम्बन्धित सार्वजनिक निकायबीच त्रिपक्षीय प्रत्यक्ष सम्झौता गर्न सकिनेछ ।
यस्तो सम्झौतामा आयोजना सम्झौता उल्लंघन भएको वा हुन सक्ने अवस्थाबारे ऋणदातालाई जानकारी दिने, दायित्व पूरा नभएमा त्रुटि सच्याउन निश्चित समय उपलब्ध गराउने तथा आयोजना निरन्तरताका लागि अस्थायी व्यवस्थापन गर्ने व्यवस्था राख्न सकिनेछ । आवश्यक अवस्थामा योग्य प्रतिस्थापनकर्ता नियुक्त गर्ने र ऋण पुनःसंरचना गर्ने विषयसमेत प्रत्यक्ष सम्झौतामा समावेश गर्न सकिने प्रस्ताव छ ।
यसले आयोजना सञ्चालक आर्थिक समस्यामा परेमा वा सम्झौताअनुसार दायित्व पूरा गर्न नसकेमा ऋणदातालाई आयोजना तत्काल बन्द हुन नदिई निरन्तर सञ्चालनका लागि पहल गर्ने अवसर प्रदान गर्नेछ । तर, त्रुटि सच्याउने समय दिइएको आधारमा सार्वजनिक सुरक्षा, वातावरण संरक्षण वा जनस्वास्थ्यसँग सम्बन्धित अत्यावश्यक कारबाही रोक्न भने पाइने छैन । सार्वजनिक निकायको नियामकीय अधिकार तथा अनुमतिपत्र खारेज गर्ने अधिकारसमेत यथावत् रहनेछ ।
व्यापारिक प्राप्य रकमबाट पनि वित्तपोषण
आयोजना वित्तपोषणबाहेक सामान्य उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई चालु पुँजी जुटाउन सहज बनाउने उद्देश्यले दफा २०ग थप गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार व्यवसायहरूले कानुनबमोजिम हस्तान्तरण गर्न सकिने व्यापारिक प्राप्य रकममा धितोको हक सिर्जना गर्न वा त्यस्तो रकम हस्तान्तरण गरेर वित्तपोषण लिन सक्नेछन् ।
व्यापारिक प्राप्य रकम भन्नाले वस्तु तथा सेवा बिक्री गरेबापत ग्राहक वा अन्य पक्षबाट भविष्यमा प्राप्त गर्नुपर्ने रकमलाई बुझिन्छ । यस्तो रकमका आधारमा कर्जा लिन पाउने व्यवस्था लागू भएमा उधारो कारोबार गर्ने उद्योग तथा व्यवसायलाई तत्काल नगद प्रवाह व्यवस्थापन गर्न सहज हुनेछ ।
तर, यस्तो कारोबार गर्दा प्राप्य रकम पहिचान गर्ने आधार, पहिले सिर्जना भएको धितो वा हस्तान्तरण, दर्ता तथा प्राथमिकताको अवस्था र भुक्तानीसम्बन्धी सूचना स्पष्ट खुलाउनुपर्नेछ । एउटै प्राप्य रकममा पहिले नै सिर्जना भएको हक वा हस्तान्तरण लुकाएर दोहोरो वित्तपोषण लिन पूर्ण रूपमा निषेध गरिएको छ ।
त्यस्तै, कुनै कारोबार वास्तविक बिक्री हो वा धितो कारोबार हो भन्ने कुरा त्यसको नामका आधारमा नभई वास्तविक प्रकृति र सर्तका आधारमा निर्धारण गरिनेछ । यस व्यवस्थाले अनुमतिपत्रविना वित्तीय व्यवसाय सञ्चालन गर्ने अधिकार प्रदान नगर्ने र कुनै बैंक वा वित्तीय संस्थालाई कर्जा दिन बाध्य नपार्ने स्पष्ट पारिएको छ । यसबाट सरकारको जमानत सिर्जना भएको पनि मानिने छैन ।
धितो कार्यान्वयनमा नयाँ व्यवस्था
मूल ऐनको दफा ४६ ले सामान्य धितो कार्यान्वयनको व्यवस्था गरेकोमा मस्यौदाले दफा ४६क थप गरी आयोजना वित्तपोषणसँग सम्बन्धित धितो कार्यान्वयनलाई थप व्यवस्थित बनाउन खोजेको छ । यसअनुसार आयोजनासम्बन्धी धितोको हक कार्यान्वयन गर्दा आयोजनाको प्रकृति, सार्वजनिक सेवाको निरन्तरता, अनुमतिपत्रका सर्त र प्रचलित कानुनी दायित्वलाई ध्यान दिनुपर्नेछ ।
चल सम्पत्ति वा अधिकार छुट्टाछुट्टै बिक्री गर्नुभन्दा एकीकृत रूपमा हस्तान्तरण गर्दा बढी मूल्य प्राप्त हुने अवस्थामा कानुन र सम्बन्धित पक्षको अधिकारको अधीनमा रही एकीकृत हस्तान्तरण गर्न सकिनेछ । तर, कानुनले निषेध गरेका अनुमतिपत्र, सार्वजनिक अधिकार वा अचल सम्पत्ति यसरी हस्तान्तरण गर्न पाइने छैन ।
आयोजना सम्झौता वा अनुमतिपत्रसँग अभिन्न रूपमा जोडिएका अधिकार कानुनी अनुमति नलिई अलग गरी हस्तान्तरण गर्नसमेत पाइने छैन । आयोजना वा अधिकार योग्य प्रतिस्थापनकर्तालाई हस्तान्तरण गर्नुपर्ने अवस्थामा सम्बन्धित विशेष कानुनबमोजिम स्वीकृति लिनुपर्नेछ ।
त्यस्तै, आयोजनाको आम्दानी, प्राप्त गर्नुपर्ने रकम वा स्वतन्त्र रूपमा हस्तान्तरण गर्न मिल्ने अमूर्त चल सम्पत्तिमा रहेको धितोको हक सम्बन्धित भुक्तानीकर्तालाई सूचना दिएर छुट्टै कार्यान्वयन गर्न सकिनेछ ।
आयोजना सञ्चालकविरुद्ध दामासाही प्रक्रिया सुरु भएमा प्रचलित दामासाहीसम्बन्धी कानुन र सुरक्षित कारोबार ऐनबमोजिम धितो कार्यान्वयन हुनेछ । धितो कार्यान्वयन भएकै कारण सार्वजनिक निकाय, उपभोक्ता वा तेस्रो पक्षलाई आयोजना सञ्चालकको निजी ऋण वा दायित्व वहन गर्न बाध्य पारिएको मानिने छैन ।
पुराना धितोको अधिकार सुरक्षित रहने
मस्यौदाले संक्रमणकालीन व्यवस्थामार्फत अध्यादेश प्रारम्भ हुनुअघि प्रचलित कानुनबमोजिम वैध रूपमा सिर्जना तथा दर्ता भएका धितोको हक, वैध प्रत्यक्ष सम्झौता र सुरु भइसकेका कार्यान्वयन तथा न्यायिक कारबाहीलाई निरन्तरता दिने प्रस्ताव गरेको छ ।
तर, नयाँ व्यवस्था लागू भएपछि आयोजनासम्बन्धी थप चल सम्पत्ति वा अमूर्त अधिकारमा धितो सिर्जना गर्न चाहने पक्षले ऐनबमोजिम सम्झौता तथा सूचना दर्ताको प्रक्रिया पूरा गर्नुपर्नेछ । साथै, सार्वजनिक–निजी साझेदारी, विद्युत्, बैंकिङ, कम्पनी तथा दामासाहीसम्बन्धी विशेष कानुनमा रहेका व्यवस्था र दायित्वसमेत पालना गर्नुपर्नेछ ।
प्रस्तावित संशोधन कार्यान्वयनमा आएमा ठूला पूर्वाधार तथा ऊर्जा आयोजनाले भविष्यको आम्दानी र करारगत अधिकारका आधारमा वित्तीय स्रोत जुटाउन सक्नेछन् । त्यसैगरी, उद्योग तथा व्यापारिक प्रतिष्ठानले उधारो बिक्रीबाट प्राप्त गर्नुपर्ने रकमलाई वित्तपोषणको आधार बनाउन सक्नेछन् । यसले परियोजना वित्तपोषणको दायरा विस्तार गर्नुका साथै व्यवसायको चालु पुँजी व्यवस्थापन र बैंकिङ कर्जा प्रवाहका लागि नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।


