काठमाडौं – लकडाउनका कारण नेपालमा आयत हुने क्लिङ्करमा भारी गिराबट आएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को ११ महिना (साउन–जेठसम्म) मा सिमेन्टको क्लिङ्करको आयातमा साढे ७० प्रतिशतले कमी आएको छ । गत आर्थिक आर्थिक वर्ष २०७५÷०७६ को सोही अवधिको तुलनामा नेपालमा सिमेन्ट क्लिङ्करको आयातमा ७० दशमलव ५ प्रतिशतले कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण चैत महिनायता भारत र नेपालमा गरिएको लकडाउनका कारण आयातमा कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा कुल ३ अर्ब ३७ करोड ८७ लाख ७ हजार रुपैयाँ बराबरको ४६ करोड ७४ लाख किलोग्राम सिमेन्टको क्लिङ्कर आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा ११ अर्ब ४६ करोड ७६ लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षभरि कुल ११ अर्ब ६७ करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो ।


