Banijya News

काठमाडौँमा उड्ने कार : प्रदर्शनका लागि मात्र, बिक्रीका लागि होइन

1
1.3K Shares

नेपालको अटोमोबाइल क्षेत्रमा एउटा नयाँ र उत्साहजनक घटना भएको छ। नेपालमा पहिलो पटक चीनको चर्चित ब्रान्ड Deepal का ‘फ्लाइङ ट्याक्सी’ र ‘अत्याधुनिक युनिट्री रोबोट्स’ भित्रिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) का अनुसार, यी दुवै उत्पादन गत शनिबार काठमाडौँ आइपुगेका हुन्। यी उत्पादनले आगामी नाडा अटो शो २०२५ को मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको अटो शोलाई विशेष बनाउन नाडाले यो उड्ने कार ल्याएको हो। तर, यसलाई नेपाल भित्र्याउने प्रक्रिया भने निकै चुनौतीपूर्ण रह्यो। तातोपानी नाकामा आएको बाढीले गर्दा सडक अवरुद्ध भएपछि, करिब १०० मिटरको दूरी मानिसले नै काँधमा बोकेर पार गर्नुपरेको थियो। यसको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान तानेको छ।

किन मानिसले बोक्नुपर्यो फ्लाइङ कार ?
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार, नेपाल र चीनको बोर्डर पार गरेपछि, कोदारी भन्ने ठाउँमा लगभग १०० मिटर सडक पूर्ण रूपमा बिग्रिएको थियो। बाढीका कारण १५ दिनदेखि तातोपानी नाकाबाट गाडी आउजाउ हुन सकेको थिएन। यही कारण, नाडा अटो शोका लागि ल्याइएका यी विशेष गाडीहरूलाई बिग्रिएको सडकखण्ड पार गर्न मानिसको सहयोग लिनुपरेको थियो।

चीनको नाकासम्म कन्टेनरमा ल्याइएको यो फ्लाइङ कार, बिग्रिएको १०० मिटर सडक पार गरेपछि फेरि नयाँ कन्टेनरमा राखेर काठमाडौँसम्म ल्याइएको थियो। नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले ‘प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक’ मानिएको यो गाडीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको बताए ।

प्रदर्शनका लागि मात्र, बिक्रीका लागि होइन
यो फ्लाइङ ट्याक्सी अहिले नेपालमा बिक्री गर्नका लागि ल्याइएको होइन। यो केवल प्रदर्शनका लागि मात्र ल्याइएको हो। भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार, यो गाडी ३ महिनाभित्र चीन नै फिर्ता जाने गरी भन्सार अनुमति लिइएको छ।

नेपालमा दीपल ब्रान्डका गाडीहरू बिक्री गरिरहेको एमएडब्लु ग्रुप ले यो फ्लाइङ कार भित्र्याएर भविष्यको सवारी साधनको बारेमा जानकारी दिने उद्देश्य राखेको छ। आगामी भदौ ३ गते देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो २०२५ मा यो फ्लाइङ ट्याक्सी र सँगै ल्याइएको रोबोटले मानिससँग अन्तरक्रिया पनि गर्ने बताइएको छ।

नाडा अटो शो २०२५: भविष्यको झल्को
यस वर्षको १७ औँ संस्करणको नाडा अटो शोलाई केवल एउटा प्रदर्शनीको रूपमा मात्र नभई ‘हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण’ को रूपमा हेरिएको छ। नाडाले यस प्रदर्शनीले नेपालमा प्रविधिको नयाँ सम्भावनाहरू उजागर गर्ने विश्वास लिएको छ।

भदौ ८ गते सम्म चल्ने यो अटो शोमा १८ वटा चारपाङ्ग्रे गाडीका स्टल, ४ वटा दुईपाङ्ग्रे, १३ वटा कमर्सियल गाडी र ४० वटा कम्पोनेन्टका स्टल रहनेछन्। यो प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि र भविष्यका सवारी साधनबारे जानकारी दिने अपेक्षा गरिएको छ। यो फ्लाइङ कारले नेपालको यातायात क्षेत्रमा के-कस्ता नयाँ सम्भावनाहरू ल्याउन सक्छ होला ?

1

Scroll to Top