सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ मा आवेदन दिने म्याद थप गरेको छ । पुस २२ गतेदेखि खुला रहेको उक्त आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँका दरले १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ, जसको प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख रुपैयाँ पर्छ । यस आयोजनाको विद्युत अनुमतिपत्रको अवधि अझै २७ वर्ष ५ महिना बाँकी छ । साधारण लगानी फिर्ता हुने समय ७.२१ वर्ष र डिस्काउण्टमा १३.४२ वर्ष रहेको छ ।
आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दालाई बाँडफाँट गरिनेछ । बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दामा वितरण गरिने कम्पनीले जनाएको छ ।


