Banijya News

डेढ दर्जनभन्दा बढी उम्मेदवार उद्योगी–व्यवसायी, को काहाँबाट ?

1
1.2K Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उद्योग, बैंकिङ, पर्यटन, स्वास्थ्य, ऊर्जा, निर्माण र वैदेशिक रोजगारी क्षेत्रसँग जोडिएका डेढ दर्जनभन्दा बढी उद्योगी–व्यवसायी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । ठूला औद्योगिक समूहका मालिकदेखि स्थानीय तहमा स्थापित व्यवसायीसम्म विभिन्न राजनीतिक दलको टिकट लिएर देशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा होमिएका हुन् ।

यसपटकको निर्वाचनमा सबैभन्दा बढी चासोको केन्द्र स्याङ्जा–१ बनेको छ । एउटै वित्तीय संस्थासँग जोडिएका तीन जना व्यवसायी फरक–फरक दलबाट आमनेसामने प्रतिस्पर्धामा उत्रिएका कारण यो क्षेत्र चर्चामा छ । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल नेपाली कांग्रेसबाट उम्मेदवार छन् भने सोही बैंकका अर्का पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ नेकपा एमालेबाट मैदानमा छन् । उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले चुनौती दिइरहेका छन् ।

देशकै ठूला व्यवसायीमध्ये एक तथा फोर्ब्स सूचीमा सूचीकृत विनोद चौधरी नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसको तर्फबाट पुनः उम्मेदवार बनेका छन् । चौधरी ग्रुपमार्फत उद्योग, सेवा, होटल, ऊर्जा र बैंकिङ क्षेत्रमा फैलिएको उनको लगानी राजनीतिक यात्रासँग पनि जोडिँदै आएको छ ।

काठमाडौँ–९ मा पर्यटन, वैदेशिक रोजगारी र रेमिटेन्स क्षेत्रमा लगानी गरेका डिपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनी यसअघि समानुपातिक प्रणालीमार्फत सांसद भइसकेका व्यक्ति हुन् । भक्तपुर–१ मा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित पनि रास्वपाकै तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

मधेश प्रदेशमा पनि व्यवसायिक पृष्ठभूमिका उम्मेदवारहरूको उपस्थिति उल्लेख्य देखिन्छ । सिरहा–४ मा बैंकिङ, जलविद्युत् र शिक्षा क्षेत्रमा लगानी गरेका तथा माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । उनी यसअघि यही क्षेत्रबाट जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित भइसकेका थिए । कपिलवस्तु–३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेबाट उम्मेदवार छन् ।

रुपन्देही–२ मा उद्योग तथा स्वास्थ्य क्षेत्रमा सक्रिय चुन्नप्रसाद शर्मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग उनको प्रत्यक्ष प्रतिस्पर्धा हुने भएकाले चुनावी समीकरण चासोको विषय बनेको छ ।

पूर्वी नेपालतर्फ मोरङ–३ मा मेडिकल कलेज व्यवसायी सुनिल शर्मा नेपाली कांग्रेसबाट पुनः उम्मेदवार बनेका छन् । काठमाडौँ मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक रहेका शर्माले ऊर्जा क्षेत्रमा लगानी विस्तारको योजना सार्वजनिक गरिसकेका छन् । सोलुखुम्बुमा कुरियर तथा कार्गो व्यवसायमा संलग्न प्रकाशसिंह कार्की कांग्रेसकै तर्फबाट चुनावी मैदानमा छन् ।

गण्डकी र बागमती प्रदेशका पहाडी जिल्लामा पनि पर्यटन र निर्माण व्यवसायसँग जोडिएका उम्मेदवार देखिन्छन् । धादिङ–२ मा पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष रमेश धमला कांग्रेसबाट उम्मेदवार छन् भने धादिङ–१ मा पर्यटन व्यवसायी कृष्ण रिजाल कांग्रेसकै तर्फबाट प्रतिस्पर्धामा छन् । रसुवामा निर्माण व्यवसायी मोहन आचार्य कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

गोरखा–१ मा पर्यटन तथा घरजग्गा क्षेत्रमा लगानी गरेका प्रेम खत्री कांग्रेसबाट उम्मेदवार छन् । मनाङमा होटल, कृषि र वाइन उत्पादनसम्म फैलिएको व्यवसायिक पृष्ठभूमि भएका पोल्देन छोपाङ गुरुङ नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । पर्सा–४ मा व्यवसायी अनिल रुँगटा नेपाली कांग्रेसको टिकटमा चुनावी मैदानमा उत्रिएका छन् ।

1

Scroll to Top