सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको पुर्चौडीमा भएको बीभत्स बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले मानवीय सहयोगस्वरूप मृतकका प्रत्येक परिवारलाई १–१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
बिहीबार राति बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो, भने ३४ जना घाइते भएका थिए । बैतडीको पुर्चौडीबाट बेहुली लिएर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब दई सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । प्रदेश सरकारले यस दुखद घडीमा पीडित परिवारलाई सान्त्वनाका लागी राहतको घोषणा गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बैठकले दुर्घटनामा परेका घाइतेहरूको सम्पूर्ण उपचार खर्च समेत प्रदेश सरकारले नै व्यहोर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । हाल घाइतेहरूमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीस्थित निसर्ग अस्पताल र ४ जनाको स्थानीय देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सरकारी अस्पतालमा उपचाररत घाइतेहरूको औषधिदेखि अन्य स्वास्थ्योपचारका सबै खर्चको जिम्मेवारी प्रदेश सरकारले लिनेछ ।
त्यसैगरी, गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं वा अन्य सुविधासम्पन्न अस्पताल लैजानु परेमा प्रदेश सरकारले नै हेलिकोप्टरको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । मुख्यमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।
मृतक १३ जनामध्ये अधिकांश बझाङ र बैतडीका बासिन्दा रहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा बिहीबार रातिदेखि नै उद्धार कार्य जारी राखिएको थियो । प्रदेश सरकारले भविष्यमा यस्ता सडक दुर्घटना न्यूनीकरणका लागि यातायात सुरक्षा मापदण्डलाई थप कडाइ गरिने समेत बताएको छ ।


