श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वित्तीय प्रदर्शनमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफामा दुई सय ९ प्रतिशतको छलाङ देखिएको हो ।
गत वर्षको पुस मसान्तसम्म ५० लाख ६५ हजार रुपैयाँ मात्र नाफा कमाएको कम्पनीले यस वर्ष १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । व्यवसायिक दक्षता र ३७ लाख ८३ हजार रुपैयाँको अन्य आम्दानीका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ । वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष (रिजर्भ) मा सबैभन्दा लोभलाग्दो सुधार देखिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा १ करोड ९ लाख रुपैयाँ मात्र रहेको रिजर्भमा १७ गुणाभन्दा बढीको वृद्धि भई १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
यसले कम्पनीको आन्तरिक वित्तीय सन्तुलन र भविष्यको जोखिम वहन गर्ने क्षमता अत्यन्त सुदृढ रहेको पुष्टि गर्छ । यद्यपि, बजारको बढ्दो ब्याजदरका कारण कम्पनीको वित्त खर्चमा भने सामान्य चाप परेको छ । अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ रहेको यस्तो खर्च अहिले ३ करोड २८ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ । कम्पनीको अन्य वित्तीय सूचकहरू पनि सकारात्मक दिशामा रहेका छन् । समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ रहँदा कुल चालु दायित्व ३७ करोड ६१ हजार रुपैयाँमा सीमित देखिएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ कायम भएको छ । ३.६७ प्रतिशतको बलियो तरलता अनुपात र ०.८७ प्रतिशतको आरओईले कम्पनीको व्यापारिक जग मजबुत हुँदै गएको संकेत गर्दछ । यसरी नाफा र जगेडा कोष दुवैमा भएको सुधारले आगामी दिनमा लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सृजना गरेको देखिन्छ ।


