Banijya News

मार्च महिनामा एक लाखभन्दा बढी पर्यटकको आगमन

1
1.1K Shares

 सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ ।

तथ्यांकअनुसार, मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५‍.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलङ्काबाट १० हजार ७५९ र बङ्गलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ ।

त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो ।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए  भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए । मार्च- अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्‌भाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन । 

विशेषगरी यो सिजनमा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने गर्दछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्याङ्क निराशाजनक नभएको बताए।

1

Scroll to Top