महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । महिला उद्यमीहरूको पक्षमा राष्ट्रिय लबिङ गर्नका लागि आफूले उम्मेदवारी दिएको ज्ञवालीले बताएकी छन् ।
महासंघको केन्द्रीय सदस्यका लागि ज्ञवालीले एसोसिएटबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन् ।ज्ञवालीले झण्डै दुईतिहाइनजिकको बलियो सरकार बनेको बेलामा व्यवसायमैत्री वातावरण बनाउन महासंघमार्फत सरकारसँग सहकार्य गर्ने वातावरण निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।
ज्ञवालीले महिला उद्यमीको पक्षमा उभिनका लागि पनि उम्मेदवारी दिएको दाबी गरेकी छिन् । साना तथा घरेलु उद्योगमा महिलाहरूको लगानी बढिरहेको छ । ती उद्योगले स्वरोजगार पनि बनाइरहेको बेलामा महिला उद्यमीहरूलाई प्रोत्साहित गर्नुपर्ने ज्ञवालीको भनाइ छ ।
त्यसका लागि सरकारको भूमिका पनि महत्त्वपूर्ण हुने र त्यसमा महासंघले पुलको काम गर्ने भएकाले आफू ती मुद्दाको नेतृत्व गर्न महासंघमा जान लागेको तर्क गरिन् । महिला उद्यमी महासंघमा एक कार्यकाल अध्यक्ष रहेकी ज्ञवालीले महिलाका उत्पादनलाई विदेश निर्यातको वातावरणका लागि निकै प्रयास गरेकी थिइन् ।
त्यसैले उनले ुलोकल टु ग्लोबलुको एजेन्डा लिएकी छन् । स्थानीय उत्पादनलाई निर्यात गर्ने वातावरण निर्माण गर्नका लागि आफूले प्रयास गर्ने पनि दाबी गरेकी छन् । त्यसैगरी, पयर्टन क्षेत्रमा हुने लगानी तथा लगानीमैत्री वातारण निर्माण, नेपालमा जडीबुटी क्षेत्रको लगानीको वातावरण निर्माणका लागि पनि आफूले पहल गर्ने ज्ञवालीले बताएकी छन् । अन्तर्राष्ट्रिय फोरममा नेपालका यी मुद्दालाई आफूले निरन्तर उठाइरहेको र ुलोकल टु ग्लोबलुको अवधारणा सफल बनाउनका लागि महासंघमार्फत पहल गर्ने उद्देश्यले पनि नेतृत्वमा दाबी गरेको उनको भनाइ छ ।
महिला उद्यमी महासंघको अध्यक्ष भइसकेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । अघिल्लोपटक उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । अहिले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेकी हुन् । नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्षसमेत रही ज्ञवाली नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत हुन् ।


