Banijya News

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

1
1.1K Shares

 पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । त्यसक्रममा ठूलो मात्रामा नगद जलेको भेटिएको थियो । अहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको छ ।

पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने नेपालमा छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएको बताइएको छ । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए । अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।

पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने भएको छ । यसका लागि अदालती कागजात चाहिने भएकाले पक्राउ पूर्जीले त्यसको काम गर्ने एक प्रहरी अधिकृत बताउँछन् । ‘अदालती कागजात इन्टरपोलले माग्ने हुँदा यसअघि इन्टरपोलमार्फत नोटिस जारी गर्न सम्भव थिएन । अब भने नोटिसका लागि बाटो खुलेको छ । त्यसको प्रक्रिया अब अघि बढ्छ’ एक उच्च प्रहरी अधिकारीले भने ।

इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउँछ । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।

उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको बताइएको छ । पछिल्लो एक/डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन अनुसन्धान भइरहेको छ ।

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठमा एउटा कम्पाउण्डभित्र दुईवटा बंगला बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरु त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पत्तिमाथि आक्रमण समेत भएको थियो भने घरमा आगजनी भएको थियो । यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बूढानीलकण्ठमा जलेका नोटहरु भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटहरुको भिडियो समेत सार्वजनिक भएको थियो ।

शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको पनि स्रोतको दाबी छ । यता यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएकी थिइन् । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारलाई पनि संकास्पद रुपमा हेरिएको छ ।

1

Scroll to Top