नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइएमबि एस क्यापिटलले सञ्चालन गर्दै आएको “एनआईबिएल सहभागिता फण्ड” को आकारमा उल्लेख्य वृद्धि गरिएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि यस खुलामुखी म्युचुअल फण्डको पुँजी ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्याइएको हो।
यो विस्तारसँगै यो फण्ड नेपालकै सबैभन्दा ठूलो म्युचुअल फण्डका रूपमा स्थापित भएको छ। सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भई २०७६ असार २४ गतेबाट सञ्चालनमा आएको यो नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्ड हो।
यसले विशेषगरी इक्विटी (सेयर), डिबेन्चर, मुद्दती निक्षेप र ट्रेजरी बिल जस्ता वित्तीय उपकरणहरूमा लगानी गर्दै लगानीकर्ताहरूलाई स्थिर प्रतिफल दिने उद्देश्य राखेको छ। खुलामुखी प्रकृतिको योजना भएकाले यो नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत हुँदैन, तर लगानीकर्ताले सिधै योजना व्यवस्थापक मार्फत इकाईहरू खरिद वा बिक्री गर्न सक्ने सुविधा रहेको छ।
लामो समयदेखि बीज पुँजीसम्बन्धी कानुनी प्रावधानका कारण लगानीकर्ताहरूको इकाई डिम्याट खातामा जम्मा हुन सकेको थिएन, जसले गर्दा धेरैमा अन्योलता थियो। तर, नेपाल धितोपत्र बोर्डले २०८२/१०/०२ मा जारी गरेको नयाँ निर्देशिका र फण्डको आकार वृद्धि भएसँगै यो समस्या पूर्ण रूपमा समाधान भएको छ।
कम्पनीका अनुसार अब सबै इकाईधनीहरूको इकाई हितग्राही खातामा जम्मा भइसकेको छ र लगानीकर्ताले आफ्नो ‘मेरो सेयर’ मार्फत यसको विवरण सहजै हेर्न सक्नेछन्। इकाई क्रेडिट हुन भएको प्राविधिक ढिलाइप्रति कम्पनीले लगानीकर्तासँग क्षमायाचना गर्दै उनीहरूको धैर्यता र निरन्तर समर्थनका लागि आभार व्यक्त गरेको छ।
हाल नेपालमा ५६ वटा म्युचुअल फण्डहरू सञ्चालनमा छन्, जसमा ४३ वटा बन्दमुखी र १३ वटा खुलामुखी रहेका छन्। यी मध्ये एनआईबिएल सहभागिता फण्डले आफ्नो आकार र प्रभावकारिताका कारण बजारमा छुट्टै पहिचान बनाएको छ।


