Banijya News

नेपाली कृषिको वर्तमान सङ्कट: उत्पादनमा उच्च लागत र बाह्य बजारको दबाब

1
1.1K Shares

हालै ललितपुरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (FLC) को आयोजनामा ‘कृषि क्षेत्रमा अन्तर प्रादेशिक सम्बन्ध र सहकार्य’ विषयक एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमले नेपाली कृषि क्षेत्रले भोगिरहेका संरचनागत, आर्थिक र नीतिगत समस्याहरूलाई उजागर गर्दै प्रदेशहरूबीचको सहकार्यमा जोड दिएको छ।

कार्यक्रमका मुख्य वक्ताहरूले नेपाली कृषिको सबैभन्दा ठूलो चुनौतीका रूपमा सीमापारबाट भित्रिने सस्तो र अस्वस्थकर उत्पादनलाई औंल्याएका छन्। बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेलका अनुसार, छिमेकी मुलुकहरूबाट न्यून मूल्यमा आयात हुने कृषिजन्य सामग्रीले नेपालको उच्च उत्पादन लागत भएका स्वदेशी उत्पादनलाई बजारबाट विस्थापित गरिरहेका छन्। यसले गर्दा नेपाली किसानहरूले आफ्नो लगानी अनुसारको प्रतिफल पाउन सकेका छैनन्, जसले समग्र कृषि प्रणालीलाई नै जोखिममा पारेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव केशव देवकोटाले बजेटको असन्तुलित वितरणप्रति चिन्ता व्यक्त गरे । कुल कृषि बजेटको झण्डै ६० प्रतिशत हिस्सा रासायनिक मल खरिदमा मात्र खर्च हुनुले अन्य विकासमूलक कार्यमा बाधा पुगेकोउनको तर्क थीयो । साथै, संघीयताको मर्म अनुसार विकासका कामहरू तल्लो तहमा जानुपर्ने भए तापनि कतिपय कार्यक्रमहरू पुरानै ढाँचामा केन्द्रबाटै सञ्चालन हुनु र स्रोत घट्दै जाँदा संस्थाहरूको संख्या बढ्नुले प्रशासनिक बोझ थपेको देखिन्छ।

लुम्बिनी प्रदेशका वरिष्ठ कृषि विज्ञ हरि प्रसाद पण्डितद्धारा प्रस्तुत तथ्याङ्क अनुसार कृषि क्षेत्रमा आवश्यक जनशक्तिको केवल ३८ प्रतिशत मात्र पदपूर्ति भएको छ। एकातिर जनशक्तिको चरम अभाव छ भने अर्कोतिर यस वर्ष कृषि क्षेत्रको लगानीमा ३.४६ प्रतिशतले गिरावट आएको छ। प्रदेशहरूले पाउने बजेट सिलिङ कुल बजेटको ९ प्रतिशतभन्दा कम हुनु र प्रदेशगत बजेट वितरणमा असमानता रहनुले कृषिको आधुनिकीकरणमा बाधा पुर्‍याएको छ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले कृषि भूमिको विनाश र घट्दो उत्पादनप्रति गम्भीर चासो व्यक्त गरीन । उनले विकसित देशहरूले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अनुदान र प्रविधिमा लगानी गरिरहँदा नेपालमा भने यो क्षेत्र उपेक्षामा परेको टिप्पणी गरीन । स्थानीय स्तरमा कृषि भूमिको संरक्षण र उत्पादन वृद्धि अबको मुख्य एजेन्डा हुनुपर्नेमा सहभागीहरूको एकमत थियो।

कार्यक्रममा गण्डकी र बागमती प्रदेशका प्रतिनिधिहरू अर्जुनदेव ज्ञवाली र झरना पन्थी लगायतले प्रदेशहरूबीचको अनुभव आदानप्रदान र सिकाइको आवश्यकतामा जोड दिए । कृषि क्षेत्रको सुधारका लागि केवल बजेट विनियोजन मात्र पर्याप्त नभई, अन्तर-प्रादेशिक सहकार्य, प्रविधि हस्तान्तरण, र सीमावर्ती बजारको प्रभावकारी नियमन आवश्यक देखिन्छ। संघीय सरकारले समन्वयकारी भूमिका खेल्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र संसाधनयुक्त बनाउनु नै नेपाली कृषिको उज्ज्वल भविष्यको आधार हो

1

Scroll to Top