खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी निर्देशनको अवज्ञा गर्ने काठमाडौंको बागमती स्वीट्स प्रालिलाई सिलबन्दी गरेको छ। गत चैत ३० गते खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको उजुरीपछि विभागले तत्कालका लागि उत्पादन र बिक्रीमा रोक लगाएको थियो। तर, उक्त आदेशलाई पूर्णतः बेवास्ता गर्दै कम्पनीले गुणस्तरहीन खाजा बिक्री जारी राखेपछि विभागले बिहीबार उद्योग नै सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विभागीय निर्देशनको उल्लंघन गर्दै बागमती स्वीट्सले प्रतिबन्धित खाजा नेपाल गुणस्तर तथा नापतौल विभागकै बैठकदेखि त्रिभुवन विश्वविद्यालय र विभिन्न अस्पतालहरूमा समेत पुर्याएको पाइएको छ। अनुगमनका क्रममा संयुक्त टोलीले त्रिवि रजिस्ट्रारको कार्यालय, चाबहिल अस्पताल र डेलिभरीका लागि ठिक्क पारिएका गरी कुल ४१ प्याकेट खाजा बरामद गरेको थियो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सरकारी आदेशको बर्खिलाप गरेको र जनस्वास्थ्यमा गम्भीर हेलचेक्य्राईं गरेको ठहर गर्दै विभागले अर्को आदेश नभएसम्मका लागि उक्त उद्योगको उत्पादन र कारखाना पूर्ण रूपमा बन्द गराएको छ।


