Banijya News

बूढानीलकण्ठको ‘लेमन ट्री’ले गर्‍यो २३ करोड ५० लाखको व्यापार, ब्याजले थिचिएपछि २० करोड घाटामा

1
1.1K Shares

बूढानीलकण्ठमा सञ्चालित लक्जरियस होटल ‘लेमन ट्री प्रिमियर’ले गत आर्थिक वर्षमा साढे २३ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ। भारतीय प्रसिद्ध होटल चेन ‘लेमन ट्री’को फ्रेन्चाइजका रूपमा भित्रिएको यस होटलले सन् २०२४ को पछिल्लो चार महिनामा मात्रै ४ करोड ९० लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ।

सन् २०१८ मा ‘बूढानीलकण्ठ हेरिटेज’को नाममा दर्ता भई सन् २०२१ देखि पब्लिक कम्पनीमा रूपान्तरण भएको यो होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ। १०२ वटा सुविधासम्पन्न कोठाहरू रहेको यस होटलले सन् २०२४ को मार्चदेखि आंशिक र सेप्टेम्बरदेखि पूर्ण रूपमा आफ्नो सेवा सुरु गरेको थियो।

कारोबार उत्साहजनक देखिए तापनि होटल हालसम्म नाफामूलक बन्न सकेको छैन। गत आर्थिक वर्षमा कम्पनीले २० करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। घाटाको मुख्य कारण बैंक ब्याजको भार देखिएको छ, जसमा कम्पनीले एक वर्षमै १३ करोड ७० लाख रुपैयाँ ब्याज भुक्तानी गरेको उल्लेख छ।

कम्पनीमा बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डष्ट्रिज, नेपाल अपर्च्युनिटी फन्ड–१, स्काई टच इन्भेष्टमेन्ट र सानिमा लाइफ इन्स्योरेन्सको मुख्य लगानी रहेको छ। होटलले आफ्नो दीर्घकालीन ८७ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ समेत गराएको छ। भारतीय कम्पनी लेमन ट्री होटल्स लिमिटेडसँगको व्यवस्थापकीय सम्झौतामा यो होटल सञ्चालन भइरहेको छ।

1

Scroll to Top