मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै ९४ करोड २६ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो, जबकि गत वर्ष बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
बैंकको नाफा बढ्नुमा विशेषगरी खुद ब्याज आम्दानीमा भएको वृद्धि र खराब कर्जा बापतको व्यवस्था (इम्पेरमेन्ट चार्ज) मा आएको गिरावट हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुग्दा इम्पेरमेन्ट चार्ज भने १ अर्ब २३ करोडबाट घटेर ९२ करोड ५७ लाख रुपैयाँमा झरेको छ।
व्यापारिक सञ्चालनका दृष्टिले बैंकको कुल सञ्चालन आम्दानी ४.६७ प्रतिशतले वृद्धि भई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा ३१.०४ प्रतिशतको उच्च बढोत्तरी देखिएको छ। नाफामा भएको सुधारले बैंकको प्रतिशेयर आम्दानी (EPS) लाई पनि १३ रुपैयाँ ७१ पैसाबाट बढाएर १५ रुपैयाँ ७१ पैसा पुर्याएको छ। यद्यपि, वितरणयोग्य मुनाफामा भने केही दबाब देखिएको छ।
बैंकको वितरणयोग्य नाफा गत वर्षको तुलनामा २९.१६ प्रतिशतले घटेर ४३ करोड ८९ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ, जसका कारण प्रतिशेयर वितरणयोग्य आम्दानी पनि ८ रुपैयाँ ४ पैसाबाट घटेर ७ रुपैयाँ ३२ पैसा कायम भएको छ। वित्तीय सन्तुलन र विस्तारको कुरा गर्दा, बैंकले चैत मसान्तसम्ममा १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित छ।
अन्य सूचकहरूमा बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) २४.१३ गुणा रहेको छ। समग्रमा, शुल्क तथा कमिशन आम्दानीमा केही गिरावट आए पनि मुख्य बैंकिङ व्यवसाय र जोखिम व्यवस्थापनमा सुधार गर्दा बैंकको समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ ।


