नवलपुरको गैँडाकोटमा सम्पन्न नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । यस अधिवेशनबाट बुटवलका उद्योगी खिमनारायण पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरिएको हो ।
यस महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ, जसले देशको व्यावसायिक तथा औद्योगिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । नेपाल उद्योग व्यापार महासङ्घले देशको उद्योग, व्यापार र वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाले विशेष गरी साना तथा मझौला उद्योगी र व्यापारीहरूको हकहितको संरक्षण, नीतिगत सुधारका लागि पैरवी गर्ने र व्यावसायिक वातावरण निर्माणमा सरकार तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै आएको छ । महासङ्घले मुलुकको आर्थिक समृद्धि, आत्मनिर्भरता र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नीतिगत तथा व्यावहारिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
नयाँ कार्यसमितिमा विभिन्न महत्त्वपूर्ण पदहरूमा जिम्मेवारी बाँडफाँडसमेत भएको छ । महासङ्घको निवर्तमान अध्यक्षमा खिमलाल भण्डारी रहेका छन भने, भने वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद पन्त चयन भएका छन । त्यसैगरी, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, बाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी, एशोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट र महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन । यसैगरी, खुला उपाध्यक्षहरूमा उपेन्द्र चौधरी, रामसुन्दर विके, प्रकाश पाण्डे र जनकराज पराजुली निर्वाचित भएका छन ।
उक्त महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरूमा महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशिष कार्की, उपमहासचिवमा कुमार थापा र सचिवहरूमा चेतबहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्रप्रसाद जोशी, केदारनाथ अधिकारी तथा सहकोषाध्यक्षमा नेत्रप्रसाद आचार्य रहेका छन । नवनिर्वाचित अध्यक्ष पराजुलीले महासङ्घलाई अझै गतिशील बनाउँदै देशभरका उद्योगी तथा व्यवसायीहरूका समसामयिक समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।


