सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा कम्पनीले १३ करोड ३२ लाख नाफा आर्जन गरेको छ । जबकि, गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २५ करोड १९ लाख नाफा कमाएको थियो ।
कम्पनीको नाफामा उच्च गिरावट आए पनि कुल बीमा शुल्क आर्जन भने बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९७ करोड ५० लाख कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको थियो । साथै, गत आर्थिक वर्षको चैतसम्ममा १ अर्ब २९ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४७ करोड ४६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
चैतसम्ममा कम्पनीको महाविपत्ति कोषमा २२ करोड ६७ लाख, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रहेको छ भने स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रहेको छ । चैतसम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा रहेको छ ।


