Banijya News

सुठौली भन्सारमा राजस्व लक्ष्यभन्दा बढी सङ्कलन

1
1.0K Shares

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा राजस्व लक्ष्यभन्दा बढी सङ्कलन गरेको छ । भन्सारले साउनदेखि बैशाख दोस्रो सातासम्ममा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरी वार्षिक लक्ष्यसमेत समयअघि नै पार गर्न सफल भएको हो ।

 

यस वर्षका लागि १ अर्ब १० करोड ५२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकिएको भएपनि हालसम्ममा उक्त लक्ष्यभन्दा बढी सङ्कलन भइसकेको बताइएको छ । भन्सार प्रमुख किरण बिष्टका अनुसार, बैशाख २३ गतेसम्म मात्रै ११ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

बैशाख महिनाका लागि तय गरिएको ९ करोड ६६ लाख रुपैयाँको लक्ष्य केही दिनमै पार हुनु भन्सारको नियमित सुधार र व्यापारिक गतिविधि विस्तारको सङ्केत भएको देखिन्छ ।

 

गत आर्थिक वर्ष २०८१/८२ मा ८० करोड रुपैयाँ लक्ष्य रहेकोमा १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको थियो, जसले भन्सारको राजस्व क्षमता क्रमशः सुदृढ हुँदै गएको देखाउँछ । चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिना (साउन र भदौ) मा लक्ष्य पूरा नभए पनि त्यसपछि असोजदेखि बैशाखसम्म लगातार लक्ष्यभन्दा बढी सङ्कलन भएको तथ्याङ्कले देखाएको छ । चैत महिनामा मात्र सबैभन्दा बढी ९ करोड १९ लाख लक्ष्यको तुलनामा १६ करोड ५५ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

 

भन्सारबाट आयात, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र कृषि सुधार शुल्कजस्ता शीर्षकहरूबाट राजस्व सङ्कलन भइरहेको छ । सुठौली भन्सारमार्फत मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, चामल, गहुँ, तरकारी, फलफूल, कोइला र खरानीजस्ता वस्तु आयात हुने गरेको छ ।

1

Scroll to Top